तीन दिन भित्र छात्रवृत्ति विवरण उपलब्ध नगराए विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौँ /२४ जेठ – काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई कक्षा १० सम्मका कक्षाहरूमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्न निर्देशन दिएको हो ।


अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७४ शिक्षा नियमावली, २०५० काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौं महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था रहेकोले कानुन अनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।


साथै यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गर्दा २०८१/०२/२३ गते सम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएको महानगरले जनाएको छ ।


छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले तीन दिन भित्र काठमाडौँ महानगरपालिका शिक्षा विभागको लिङ्क https://datacollection.kathmandu.gov.np/#/auth/basic छात्रवृत्ति विवरण उपलब्ध गराउन भनिएको छ ।


यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न÷नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत चेतावनी दिएको छ ।


साथै रीतपूर्वक छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही हुने र यसबाट कुनै जोखिम या असर परे त्यसको पूर्व जवाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्ने जनाएको छ ।