अख्तियारद्वारा २० वर्षदेखि अध्यापन गर्दै आईरहेकी प्रअ विरूद्ध मुद्दा

काठमाण्डौं/२८ फागुन– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा अध्यापन गर्दै आईरहेकी प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ ।
आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी २० वर्षदेखि अध्यापन गर्दै आईरहेको भन्दै डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो ।
प्रधानाध्यापक अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गर्दा उनले पेश गरेको माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण–पत्र झुठ्ठा पाइएको अख्तियारले जनाएको छ ।
अनुसन्धानको क्रममा उनले नक्कली प्रमाण–पत्रकै भरमा २०५७ मंसिर १ देखि निजी स्रोतमा र २०६१ पुस २४ देखि राहत दरबन्दीमा नियुक्ति भई अध्यापन गर्दै आईरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नक्कली झुठ्ठा प्रमाणपत्रका आधारमा शिक्षक भई सरकारी सुविधा एवं लाभ समेत लिएको कसुर स–प्रमाण पुष्टि हुन आएकोले अवस्थीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गर्दै अख्तियारले उनी विरूद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।