काठमाण्डौं/२८ फागुन– रोल्पा जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन कार्य सुरू गर्ने भएको छ ।
शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रू २२ लाख लगानीमा स्मार्टबोर्ड जडान गरी पठनपाठन सुरु गरेको हो । किताब पढ्दा नबुझेका कतिपय कुरा श्रव्यदृश्यका माध्यमबाट सहजै बुझिने भएकाले गर्दा सो विद्याालयका विद्यार्थीहरूलाई अध्ययनमा थप सहयोग पुगेको छ ।
सो विद्यालयमा कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यपक लेखमणि खड्काले जानकारी दिए । स्मार्टबोर्डबाट अध्ययन गर्दा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपूर्व सुन्ने गर्दछन् । स्मार्टबोर्ड प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ ।
प्रयोगात्मक शिक्षणका लािग स्मार्टबोर्ड निकै सहयोग भएको छ । प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा बोर्डको जडान गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए ।
छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म २ हजार ६ सय विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।