भोलिदेखि अधिकांश विद्यालयमा वार्षिक परीक्षा हुँदै

काठमाडौं/२७ काठमाडौं–भोलिदेखि अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुको वार्षिक परीक्षा सञ्चालन हुँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गते भित्र सञ्चालन निर्देशन दिएसँगै विद्यालयहरुले चैतमा सञ्चालन गर्ने वार्षिक परीक्षा फागुनमा सारेका हुन् । छोटो समयमै परीक्षाको तयारी सकेर विद्यालयहरुले परीक्षा सञ्चालनमा जुटेका छन् ।
निजी विद्यालयहरुले परीक्षा स्थगित गरी केही समयमा पछि परीक्षा सञ्चालन गर्ने माग गरेको भएपनि मन्त्रालयले कोरोनाले महामारीको रुप नलिएको भन्दै वार्षिक परीक्षा चैत ५ भित्र सक्ने निर्देशन दिएको थियो । कति विद्यालयहरुमा आजबाट परीक्षा सुरु समेत भईसकेको छ । चैत ५ भित्रै परीक्षा सक्नका लागि कति विद्यालयहरुले शनिबारको दिनमा समेत परीक्षा सञ्चालन गर्दैछन् ।
मन्त्रालयले आधारभूत तह कक्षा ८ को परीक्षा समेत आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको थियो । यसले विद्यार्थीहरुलाई केही राहत भने मिलेको विद्यालय सञ्चालकहरुको भनाई छ ।