काठमाडौं/२७ फागुन–परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।
महानगरीय प्रहरी वृत तिनकुनेका अनुसार शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई थप अनुसन्धानका लागि म्याद थप गर्न आज अदालत लगिएको हो । प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको भएपनि आइतबार र सोमबार सार्वजनिक बिदा परेकाले आज अदालत लगिएको हो ।
पीडत विद्यार्थीका अभिभावकहरुले शिक्षिकाले माफ मागेकाले एकपटकलाई छोडिदिन प्रशासनसँग आग्रह गरेको भएपनि बालबालिकाहरु माथि अमानवीय व्यवहार गरिएकाले प्रहरीले उनी विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो ।
उनलाई बालबालिकासम्बन्धी ऐन अनुसार अदालतबाट म्याद लिने तयारी गरेको प्रहरीले खबर एजुकेशनलाई जानकारी दियो । बालबालिकासम्बन्धी ऐनको परिच्छेद ८ मा रहेको ‘घर, विद्यालय वा जुुनसुुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने’ कसुरमा दोषीलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म सजाय हुन सक्ने उल्लेख छ ।
काठमाडौंको जडीबुटीमा रहेको जागृति एकेडेमीमा सामाजिक विषय पढाउँदै आएकी शिक्षिक कर्माचार्यले परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ र ७ का विद्यार्थीहरुलाई हात चिर्न लगाएर यातना दिएकी थिइन् । हात चिरिएकामध्ये २५ जना कक्षा ६ र ९ जना कक्षा ७ का विद्यार्थी छन् । एकेडेमीले उनलाई शुक्रबारदेखि नै लागू हुने गरी बर्खास्त गरिसकेको छ ।