केयूको स्मार्ट कक्षा र आईटी ल्याबको उद्घाटन : विद्यार्थीलाई आईटी शिक्षामा सहयोग पुग्ने

काठमाडौँ /११ माघ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र स्कुल अफ इन्जिनियरिङमा सञ्चालित लर्निङ युनिभर्सिटी प्रोजेक्ट फर कोअप्रेशन (लुपिक) परियोजना अन्तर्गत निर्माण गरिएको स्मार्ट कक्षा कोठा तथा आईटी ल्याबको उद्घाटन गरिएको छ । बि.टेक इन इनफरमेशन टेक्नोलोजीमा अध्ययन गर्ने विद्यार्थीका लागि निर्माण गरिएको स्मार्ट कक्षा कोठा तथा आईटी ल्याबको उद्घाटन गरिएको हो ।


नेपालका लागि कोरियन राजदूत त्येयी योङ्ग पार्क र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा प्राध्यापक थापाले काठमाडौँ विश्वविद्यालयले पछिल्ला दिनहरूमा गर्दै आएको विभिन्न कार्यक्रमहरूको बारेमा प्रस्ट पार्दै अन्तर्राष्ट्रिय साझेदारीलाई धन्यवाद दिए । उनले भविष्यमा पनि शिक्षाको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।


त्यसैगरी स्कुल अफ एजुकेसनका डिन प्रा।डा। बालचन्द्र लुइटेल र स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनिष पोखरेलले उक्त परियोजनाले काठमाडौँ विश्वविद्यालयमा स्थापना गरेका स्मार्ट कक्षा कोठा र आईटी इनफरमेशन ल्याब विद्यार्थीले प्राप्त गरेका छात्रवृत्ति तथा शिक्षण सिकाइ सामग्रीहरूको निर्माणका लागि गरेका सहयोगको बारेमा प्रस्ट पारे ।


स्कुल अफ एजुकेसन अन्तर्गत स्टिम शिक्षा विभागका विभागीय प्रमुख विनोद प्रसाद पन्तले परियोजनाले विभागमा रहेको ४ वर्षे स्नातक तहको बि टेक एड कार्यक्रम र १ वर्षे पोस्ट ग्य्राजुएट कार्यक्रम (स्टिम एजुकेसन)मा अध्ययनरत विद्यार्थीहरूलाई गरेको सहयोग सह्रानीय रहेको बताउँदै प्राप्त सहयोगले विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पर्ने बताए ।


कोरियाको तर्फबाट लुपिक परियोजना प्रमुख प्रोफेसर डा। योङकी होङले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी रहेको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै बि टेक एड कार्यक्रमका संयोजक नेत्र कुमार मानन्धरले उक्त परियोजनाबाट प्राप्त सहयोगले विशेष गरी शिक्षण सिकाइमा टेक्नोलोजीको प्रयोग गर्दै शिक्षण सामग्रीहरू निर्माण गर्न र विद्यार्थीको आईटी शिक्षामा अधिकतम सहयोग पुग्ने भनाई राखे । कार्यक्रममा कोरियाबाट शिक्षकहरू तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो ।