शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न सम्झौता

नेपालगन्ज/२३ पुस – शिक्षकहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र नेपालगन्ज स्थित स्प्रीङ्ग डेल एकेडेमीबिच सहमति भएको छ । स्कुल अफ एजुकेशन अन्तर्गत सिपिइसी युनिट मार्फत तालिम सञ्चालन गर्नका लागि सहमति भएको हो ।


एकेडेमीका शिक्षकहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी तालिम ३ क्रेडिट (४८ घण्टा) को हुनेछ भने तालिममा एकेडेमीका करिब २५ देखि ३० जना शिक्षकहरू सहभागी हुनेछन् । तालिमलाई विभिन्न माध्यमहरू भौतिक उपस्थिति तथा अनलाईन मार्फत सञ्चालन गरिनेछ । तालिमको क्रममा सिपिइसी युनिटले व्यक्तिगत कार्य तथा समूहगत कार्यहरू दिनुका साथै कार्यको अवलोकन, मूल्याङ्कन तथा पृष्ठपोषण समेत दिने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ । साथै सहभागिहरूको उपस्थिति तथा तालिमको दौरानमा दिइएको कार्यहरूको आधारमा प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।


तालिमले एकेडेमीमा कार्यरत शिक्षकहरूको अध्यापनमा समावेशी शिक्षण पद्धति तथा विद्यार्थीहरूको सिकाईमा नयाँपन आउने अपेक्षा राखिएको विद्यालयले जनाएको छ ।