काठमाडौँ /१७ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन ल्याउने प्रक्रियामा रहेको बताएका छन् । विधेयकमा केही संशोधनको खाँचो रहेको बताउँदै सबैले अपनत्व हुनेगरी विधेयकलाई संशोधन गरी छिटो विद्यालय शिक्षा ऐन ल्याउने प्रक्रियामा रहेको बताएका हुन् ।
राजधानीमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै लामो प्रयास पछि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई संसदबाट छिटै पारित गर्ने बताए । उनले भने ‘सरकार सबै पक्षका जायज चासो र मुद्दालाई अधिकतम सम्बोधन गरी छिटो भन्दा छिटो विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रियामा रहेको छ । ऐन छिटो ल्याउनका लागि सबै पक्षले सकारात्मक योगदान र पहल गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री दाहालले आफ्नै पहलमा लामो समय पछि विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको बताउँदै विधेयकमा आवश्यक परिमार्जन संशोधन गर्ने कुरामा शिक्षकहरू र सरकारको बिचमा पहिले नै एउटा समझदारी बनिसकेको बताए । ‘मैले खास गरी विद्यालय शिक्षासँग सम्बन्धीत प्रतिनिधिहरूसँग पहिले नै एउटा कमिन्टमेन्ट गरीसकेको छु, यो विधेयकमा तपाईहरूको मूलभूत र आधारभूत आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी परिमार्जन सहित पारित गरिने छ’ उनले भने ।
त्यसैगरी लामो समय पछि ऐन आउन लागेका कारण सबै पक्षले ऐनमा आफ्ना मागहरू सम्बोधन हुनुपर्ने चाहाना राख्नु अन्यथा नभएको भन्दै ऐन भित्र शिक्षाको रूपान्तरणको चाहाना राख्ने सबैले आफ्नो अनुहार राम्रोसँग त्यसमा देख्न सक्नुपर्ने बताए ।
दाहालले देशको राष्ट्रिय स्वार्थ नै मुख्य कुरा भएको र राष्ट्रको उन्नति र विकासका लागि सबैले आफ्ना स साना स्वार्थहरू छोड्न तयार हुनुपर्नेमा जोड दिए ।



