काठमाडौँ /१६ मङ्सिर – सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले यो वर्ष विवाहअघि स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका २० वर्ष उमेर पूरा भएर विवाह गर्ने तथा विवाह नगरी बसेका किशोरीलाई प्रोत्साहनस्वरूप यस्तो सहयोग गर्न लागेको जनाएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालका अनुसार बालविवाह न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुयाउन यो कार्यक्रम ल्याइएको हो । गत वर्ष २० वर्ष उमेर पुगेर स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने पाँच किशोरीले जनही एक लाख रुपियाँ पाएका थिए । गाउँपालिकाले गत वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो । यो वर्ष पनि उक्त कार्यक्रमका लागि पाँच लाख रुपियाँ छुट्याइएको प्रमुख बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त भत्ता वितरण गर्न भर्खर १५ दिने सूचना प्रकाशन गरेका छौँ । उक्त अवधिभित्र मापदण्ड पूरा गरी जति निवेदन दिने सबैलाई भत्ता वितरण गरिने छ ।” यस्तो भत्ता प्राप्त गर्न मरिण गाउँपालिकाभित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानका अनुसार तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो कार्यक्रम ल्याइएको हो । यस कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो । “हाम्रो पालिकामा तल्लो कक्षामा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो । त्यसैले विवाह गर्नुअघि नै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई हामीले नगद एक लाख दिने कार्यक्रम राखेका हौँ,” अध्यक्ष मोक्तानले भन्नुभयो ।
यो गाउँपालिकामा उच्च शिक्षा हासिल गर्ने छात्राको सङ्ख्या न्यून रहेको र बाल्यावस्थामै विवाह गर्ने दर बढेपछि विवाहपूर्व स्नातक तह उत्तीर्ण गर्ने प्रत्येक छात्रालाई नगद एक लाख रुपियाँ दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । गोरखापत्रमा समाचार छ ।



