विश्वविद्यालय अनुदान आयोग : प्रस्ताव आह्वानको समय थप

काठमाडौँ /६ मंसिर – विश्वविद्यालय अनुदान आयोगले अनुदान, तालिम, अनुसन्धान, गुणस्तर सुधार कार्यक्रमका लागि माग गरेको आवेदन दिने समय थप गरेको छ । उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्ययन कार्यक्रमका लागि आवेदन दिने समय थप गरेको हो ।


साथै उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वत्वृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम तालिम र छात्रवृत्तिलगायतका विभिन्न कार्यक्रमहरूद्वारा उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आवेदन माग गरेको थियो ।


विभिन्न कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गर्ने भएकाले यो सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ । विस्तृत जानकारीका लागि कार्यक्रम कार्यविधि, २०८० आयोगको www.ugcnepal.edu.np मा हेर्न सकिने छ ।