लुम्बिनी वर्ल्ड स्कुलमा साहित्यिक महोत्सव सम्पन्न

काठमाडौँ /२८ कार्तिक – लुम्बिनी वर्ल्ड स्कुलले यसै दशैँ – तिहार बीचको उमङ्गमय समयको अवसर पारेर आफ्नो पहिलो साहित्यिक महोत्सव सम्पन्न गरेको छ । प्री देखि कक्षा नौ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त महोत्सव दुई हप्ता सम्म सञ्चालन गरिएको थियो । विद्यालयमा साहित्यिक माहोल तयार गरी विद्यार्थीहरूलाई विभिन्न रचनात्मक कार्यहरूमा सामेल गराइएको थियो ।


कार्यक्रममा अभिभावकलाई समेत संलग्न गराइएको थियो । अभिभावकहरूले पनि विद्यार्थीहरू माझ आफ्ना साहित्यिक रचना तथा मन्तव्य प्रस्तुत गरेका थिए । साथै केही अभिभावकहरूले भने विद्यालय प्रसाशन मार्फत पठाउनु भएका रचनाहरूलाई पनि विद्यालयमा वाचन गरिएका थिए ।


त्यसै गरी विद्यालयका शिक्षकहरूले पनि हप्तै भरी विभिन्न साहित्यिक रचनाहरू नेपाली र अङ्ग्रेजी दुबै भाषामा पस्कीरहेका थिए । विद्यार्थीहरू पनि आफ्ना–आफ्ना साहित्यिक रचनाहरूलाई विद्यालय परिवार सामु वाचन गर्न पाउँदा निकै हर्षित देखिन्थे ।


महोत्सवका मुख्य आकर्षणका रूपमा रहनुभएको थियो लेखक तथा गीतकार पुरुषोत्तम ढुङ्गेल । हालै प्रदर्शन भएको “एक भागवत गीता” नामक चलचित्रका लेखक साथै प्रसिद्ध गजल “ऊ जीतेर गई या हारेर गई” का रचनाकार ढुङ्गेलले कार्तिक २१ , २२ र २३ गते कक्षा चार देखि नौ सम्मका विद्यार्थीहरूको गीत, कविता र नाटक लेखन सीपको कौशलता बढाउने कार्यशाला सञ्चालन गरेका थिए ।


“आजका स्रष्टा भोलिका द्रष्टा” भन्ने विचारलाई आत्मसात् गर्ने ढुङ्गेल विद्यार्थी माझ साहित्यिक सीप बाँड्ने मौका दिनु भएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।


साहित्यको माध्यमबाट विद्यार्थीहरूको भाषिक सीप अझ प्रगाढ बनाउनु साहित्यिक महोत्सवको उदेश्य रहेको विद्यालय भाषा संकायका शिक्षकहरूको भनाई थियो । विद्यालयका शैक्षिक निर्देशक डा। मिन प्रसाद खनालले आफ्ना रचनाहरू प्रस्तुत गर्ने क्रममा “यस किसिमका कार्यशालाको दिगो प्रभाव भनेकै विद्यार्थीहरूमा गुणस्तरीय ज्ञानको बीजारोपण हुने र अन्तर्राष्ट्रिय स्तरका साहित्यिक रचनाहरू जन्मनु रहेको बताए ।


“यस किसिमका कार्यशालाले विद्यार्थीहरूलाई पठन पाठनमा अझ गहीराउने र सिकाईको अपनत्व प्रदान गर्दै उनीहरूको सृजनात्मक क्षमता बढने” कुरा विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालको भनाई थियो ।


“विद्यालयले सधैँ भाषिक र साहित्यिक सीपको विकासलाई पाठ्यक्रम अनुरूप अगाडि बढाउँदै आएको र यो महोत्सवले तिनै प्रयासहरूलाई उत्सवको रूपमा मनाएको कुरा यस “साहित्य महोत्सव २०८०” की संयोजक तथा विद्यालयकी सह प्राचार्य लजिता शर्माले स्पष्ट परिन । उनले यो कार्यक्रमले आगामी दिनहरूमा साहित्यको रोचक पक्षहरूलाई औजारको रूपमा प्रयोग गर्दै विद्यार्थीहरूमा पठन संस्कृतिको विकास अझ बढाउने कुरामा विश्वस्त रहेको बताइन ।