विद्यार्थीको सहि मूल्याङ्कन कसरी होला ?

काठमाडौँ /२३ कार्तिक – यो मूल शीर्षक प्रश्न शैक्षिक अनुसन्धानकर्ताहरूसँग सदियौँ देखी छ । र यो प्रश्न कायमै छ । उत्तरका लागि अनुसन्धान जारी छन् । केहीका उत्तर छन्, तर कुनै पनि उत्तरले समग्रता समेटेको छैन । सुन्दा सजिलो देखिने यो सवालको खास उत्तर आफैमा गहन हुनुका पछि मानव विचारको विषयगत अमूर्ततासँग जोडिएको छ ।


मूल्याङ्कनले विद्यार्थी र उसको ज्ञानको मापनलाई संकेत गर्दछ । विद्यार्थी सचेतन मानव हो, ज्ञान अनुभवको सँगालो हो। चेतना र अनुभव दुवै अमूर्त छन्, विषयगत छन् त्यसैले मूल्याङ्कनको विषय शिक्षामा मूलतः आकलनमा केन्द्रित छ ।


कोशीमा आएको विशाल बाढीमा कति पानी छ भनेर हेर्न परेमा ल्फडगेजमा हेरिन्छ। कोशीमा यति क्युसेक छ, ड्यामको ढोकाले यती थाम्छ, यति खोल्न पर्छ र यहाँ भन्दा माथि खतरा हुन्छ र परेमा आवश्यक सावधानी अपनाउने निर्णय लिइन्छ । यो मापन हो, यो मूल्याङ्कन हो ।


ठिक त्यसै गरि विद्यार्थीमा वस्तुतः कति ज्ञान छ ? कति हुन पर्ने हो ? कति हुँदा यो सन्तोषजनक हो ? कति अझै आर्जन गर्न बाँकी छ ? भनेर स्थापित गरिएको वैज्ञानिक मापन विधि मूल्याङ्कन हो । विद्यार्थीको प्रगतिका लागि निर्णय गर्न लिइने तथ्यांक पद्धतिको आधार हो ।


यो कदापि पनि विद्यार्थीको बौद्धिकताको वा व्यक्तिगत उपलब्धिको तराजु होइन । आँकलन गर्ने मात्रात्मक आधार मात्र हो ।
अविच्छिन्न शिक्षण क्रियाकलाप सँगै मूल्याङ्कन कायम हुन्छ । त्यसैले शिक्षण र मूल्याङ्कन एकै रथका सँगसँगै गुड्ने दुई पाङ्ग्रा हुन् । शिक्षण प्रक्रिया र मूल्याङ्कन एक अर्काका परिपूरक र समानान्तर हुन्छन् ।


योगात्मक मूल्याङ्कन ज्ञान आर्जन प्रक्रियाको कोसेढुङ्गो हो । यसलाई सहि ढंगले प्रयोग गरिएमा मात्र यसको विश्वसनीयता हुन्छ । त्यसैले हचुवाको आधारमा लिइने परीक्षाले दिएको परिणामको विश्वसनीयता थोरै हुन्छ ।


वस्तुगत भएर बुझ्न पर्ने तथ्य हो वैधताले मात्र विश्वसनीयता कायम गर्न सक्दैन । वैधता दिने नै विश्वसनीय हुनु पर्दछ । यसैको कसिमा परीक्षा बोर्डहरू र मान्यता दिने संस्थाहरू पर्दछन् ।


मूल्याङ्कनको दर्शनले निमार्णात्मक पक्षलाई सघन मान्दछ । योगात्मकलाई व्यवहारिक र औपचारिक निर्णय गर्ने एक जुक्तिको रूपमा मात्र लिन्छ। मूल्याङ्कनको सुन्दरता यसको निर्माणात्मक पक्षमा नै झल्कन्छ र यस लेखमा त्यसैमा केन्द्रित भएर विमर्श गर्ने छु ।


शैक्षिक प्रक्रियामा शिक्षण र मूल्याङ्कन रेखीय हुदैनन्। यस प्रमाणित तथ्यले पहिले पढाएर त्रैमासिक वा वार्षिक जाँच लिने परिपाटीलाई स्वतः खारेज गर्दछ। यसर्थ विद्यालय शिक्षामा अविच्छिन्न चलीरहने निर्माणात्मक मूल्याङ्कनले प्रमुख भूमिका खेल्दछ ।


मूल्याङ्कन शिक्षण प्रक्रियाको तीन मध्येको एक अवयव हो र वाँकी दुई अध्यापन र पाठ्यक्रम हुन् । यी तीनै समग्र शैक्षिक यन्त्रका साथमा चलीरहने पुर्जा हुन् । ती बीच समन्वयको खटपटी भएमा सम्पूर्ण शैक्षिक प्रक्रियाको उपज न्यून हुन्छ । यसर्थ शिक्षणलाई केन्द्रमा राख्ने र मूल्याङ्कन लाई छेउमा राख्ने परिपाटीले विद्यार्थी उपलब्धिलाई नकारात्मक दिशा तर्फ धकेल्छ ।


मूल्याङ्कन लाई पाठ योजना गर्दा केन्द्रमा राखिनु पर्छ वा यसैबाट पाठ योजनाको सुरुआत गर्नु पर्छ । यो भनेको पढाइको उपलब्धिको लक्ष्य निर्देशन हो । निर्देशित प्रक्रिया यस पछि मात्र उपलब्धिमूलक हुन्छ । यसले दिशाहीनताको अन्त्य गर्दछ ।


मूल्याङ्कनका दुई मुख्य अस्त्र पद्धति छन् । एउटा औजार हो, अर्को रणनीति हो । कुन रणनीतिमा कुन औजार कसरी प्रयोग गर्ने र त्यसको प्रयोग कुशलताले मूल्याङ्कनको विश्वसनीयता कायम गर्दछ र विद्यार्थी उपलब्धिलाई आँकलन गर्न सहज हुन्छ । औजारहरूको प्रयोग गर्ने विधिले समग्रतामा मूल्याङ्कनको रणनीति निर्माण गरिन्छ ।


उदाहरणका लागि लिउ रुब्रिक। यसलाई शिक्षकले औजारका रूपमा प्रयोग गरेको छ भने त्यही नै मापदण्डका रूपमा स्थापित हुन्छ र विद्यार्थीको सिकाइलाई निर्देश गर्दछ । विद्यार्थीहरूले त्यसलाई मार्गनिर्देशनका रूपमा लिन्छन् र आफ्नो क्रियाकलापलाई निर्दिष्ट गर्दछन् ।


तर रुब्रिक मात्रले मूल्याङ्कन लाई पूर्णता नदिन सक्छ । त्यसैले विज्ञ शिक्षकहरूले यो औजारसँग अन्य औजारहरू पनि प्रयोग गर्छन् ।


मानौ विद्यार्थीहरूले रुब्रिकको प्रयोग गरेर एक निबन्ध तयार गरे र आधारभूत विवरणात्मक मानकहरूलाई प्रयोग गरे। तर त्यस निबन्धमा आएका विचार र तर्कहरूलाई कसरी खेलाए त्यो पक्षलाई समाधान गर्न उनिहरूलाई त्यही निबन्ध उपर छलफल गराइन्छ, विद्यार्थी बीच निबन्ध साटासाट गरेर वा विद्यार्थीलाई स्व मूल्याङ्कन गर्न लगाइन्छ । ती वाँकी सबै मूल्याङ्कन प्रक्रिया यहाँ शिक्षकका थप औजारहरू हुन् ।


यहाँ रुब्रिकलाई रणनीतिक आधार मानियो तर एकल नलिएर शिक्षणलाई पूर्णता दिन अन्य औजारहरूको पनि प्रयोग गरियो। यसरी निबन्ध लेखनका प्रक्रियालाई सबै पक्षहरू समेटेर निर्देशन गरियो, यो नै त्यो विज्ञ शिक्षकको स्थापित मूल्याङ्कनको रणनीति हो । यही रणनीतिको आधारमा निबन्धलाई ग्रेडिङ गरियो। यसरी मूल्याङ्कन जीवन्त बन्यो ।


अन्त्यमा विद्यार्थीका ती निबन्धहरूलाई प्रकाशन गरिन्छ, विद्यार्थीहरूले त्यसलाई वास्तविक पाठकहरू सामु पस्केर आफ्नै उपलब्धिको यर्थाततालाई व्यवहारिक रूपमा उतार्छन्। यसरी मूल्याङ्कनको एक चक्र पूरा हुन्छ। विद्यार्थीहरू ती चक्रहरू दोहो¥याउँदै निबन्ध लेखनमा नपूर्ण बन्दछन् ।


यहाँ निबन्ध लेखनको सुरुआत नै मूल्याङ्कनका मानदण्ड बाट भयो र अन्त्य निबन्धको गुणस्तर निर्धारण गरेर भयो। विद्यार्थीले निर्दिष्ट भएर लेखे र यो लेखन प्रक्रियालाई निपुण हुन कायम गरे । निपुणता केन्द्रमा राखियो ।


उल्लेखित उदाहरण निर्माणात्मक मूल्याङ्कनको एक सानो प्रारूप मात्र हो । विद्यालयहरूले किसिम किसिमले औजार र रणनीतिको प्रयोग गरेर मूल्याङ्कनलाई पूर्णता दिए मात्र सिकाइ सफल हुन्छ ।


मूल्याङ्कन विद्यार्थीको मौलिक विचार, आलोचनात्मक सोचाई र बोध तर्फ केन्द्रित हुन पर्छ । सूचना सङ्कलन वैज्ञानिक तवरले मूल्याङ्कन गर्दा स्वतः आउँछ । यसमा जोडतोड गर्नु आवश्यक पर्दैन र शिक्षण अत्यन्त प्रभावशाली बन्दछ ।


यती पृष्ठभूमि पछि हाम्रो परिप्रेक्ष्यमा मूल्याङ्कनलाई कसरी राखिएको छ त्यो हेरौँ ।


हाम्रो मूल्याङ्कन रेखीय पद्धतिको ज्यादा छ । पहिला पढाउने र अन्तिममा योगात्मक परीक्षा लिने। निर्माणात्मक पक्षलाई कम महत्व दिने तर योगात्मक परिणामलाई शिक्षाकै अन्त्य मान्ने प्रवृत्ति देखिन्छ ।


मूल्याङ्कन उत्कर्षताका लागि हुनु पर्दछ, अन्यथा यो कार्यगत बन्न सक्दैन । उत्तीर्ण वा अनुत्तीर्णलाई केन्द्रमा राख्नु हुँदैन यसो गर्दा प्रतिबिष्फोटनको जोखिम उच्च हुन्छ । कति आर्जन भयो त्यो हेर्ने र तद्अनुरुप निर्णय गर्ने प्रक्रियाले उत्कर्षताको विकास हुन्छ ।


अंकलाई ग्रेडमा परिणत गरिने प्रणाली वास्तवमा त्रुटिपूर्ण छ । अंक आधारित मूल्याङ्कन गलत होइन तर यसका विविध विधिहरू छन् र त्यस अनुसार ग्रेडिङलाई सान्दर्भिक बनाउँन सकिन्छ ।


ग्रेडले मात्र मूल्याङ्कनको समस्या समाधान गर्ने होइन। तथ्यांक सङ्कलनका रणनीति र मापनका गणितीय आधारहरूलाई सहि ढंगमा लिदा मात्र मूल्याङ्कनले पूर्णता पाउँछ ।


हामी तीन घन्टे परीक्षा लिन्छौँ अनी एक सयको पूर्णाङ्क तोक्छौँ। मनस्थितिमा के बस्यो भने जाँच एक सयकै हुन्छ, तीन घन्टा नै लाग्छ ।


हामी यो किन सोच्दैनौ यो बिस वा मानिलिउ पच्चिस सय पूर्णाङ्क बनाएर त्यसका लागि तथ्यांकका आधार बनाए मूल्याङ्कन अझ चुस्त हुन सक्छ वा कम्प्युटर आधारित गर्न सकिन्छ ।


मूल्याङ्कनका अनेक मोडालिटी छन्, तिनलाई समेट्न सकिन्छ । हामी पुराना मूल्याङ्कनका जडसूत्रमा बाँधिएका छौँ र यसलाई तोड्ने बेला आइसकेको छ ।


मूल्याङ्कनलाई एकरूपता कसरी दिन सकिन्छ भन्ने पक्षमा विविध विचारहरू छन् । अनुसन्धानले विद्यार्थीहरूलाई एकै किसिमको मूल्याङ्कनको साँचोमा राख्न नहुने बताउँछ । यसले प्रमाणित स्तरीकृत परीक्षा, जस्तै स्याट वा जीआरई जस्ताका पनि सीमिततामा बहस ल्याएको छ र यस्ता प्रकारका परीक्षा लिइनु हुँदैन भन्ने तर्क सुरु गरिएको छ ।


एकरूपता कसरी ल्याउने भन्ने जटिल प्रश्नको उत्तर हाल सम्म सन्तोषजनक रूपमा प्राप्त छैनन् । परीक्षाको आवश्यकता छ तर समग्र मूल्याङ्कन हुने किसिममा एकै ढाँचा भने छैनन् ।


विद्यालय शिक्षाको परिप्रेक्ष्यमा यसै कारण निर्माणात्मक मूल्याङ्कनलाई केन्द्रमा राखिन्छ र यसका विविध रणनीति र औजारहरूको प्रयोग गरिन्छ । ती रणनीति र औजारहरूलाई कुनै ज्ञानको विशिष्ट क्षेत्रको मापनलाई प्रयोग गरिन्छ ।


मापनका अनेक पक्षहरूलाई सहि प्रयोग गरिनु नै मूल्याङ्कनको एक रूपता हुन सक्छ। हरेक विद्यार्थी अद्वितीय हुने, प्रतिभा एकै किसिमका नहुने कारण र हरेक विषय क्षेत्रमा मूल्याङ्कनका प्रकृति फरक हुँदा मापनलाई सहि संयोजनको आवश्यकता रहेको अध्ययनले देखाउँछ ।


प्रश्नपत्र बनाउने ग्रिडले परीक्षालाई माथि उल्लेख जस्तो स्तरीकृत गर्दैन । ती मापदण्डले कस्तो प्रश्नपत्र बन्ने भन्ने रूपरेखा मात्र तयार गर्छ र विद्यार्थीको वास्तविक उपलब्धिको थोरै भागलाई सम्बोधन गर्दछ । यसले सर्वाङ्गीण विकासको मापन र व्यक्ति विशेष को क्षमता निर्धारण गर्न सक्दैन ।


उच्च माध्यमिक शिक्षा पछि लिईने स्तरीकृत (standardized tests) परीक्षाको प्रकृति अर्कै छ । यसले शिक्षा आर्जनको त्यो विन्दु सम्म पुग्दा कति अभिवृत्ति (aptitude) प्राप्त भयो त्यसको लेखाजोखा गर्छ वा त्यहाँसम्म आइपुग्दा आर्जित ज्ञानले कुन तहको बौद्धिक खुबी प्रदान गरेको छ त्यसको तीव्रताको मापन गर्दछ, ज्ञानको गर्दैन ।


विद्यालयमा मूल्याङ्कनका समस्या समाधानका लागि विश्वका उच्चस्तरका विद्यालयहरूले विवरणात्मक प्रगति विवरणलाई जोड दिन्छन् । यो निर्माण गर्दा पाठ्यक्रमलाई र विद्यार्थीका उपलब्धिलाई संरेखित गरिन्छ र यसैमा विद्यार्थीका अन्य सर्वाङ्गीण विकासका पक्षलाई पनि समावेश गरिन्छ ।


नेपालका निजी वा सामुदायिक विद्यालयहरूले विवरणात्मक प्रगति रिपोर्टलाई कमै प्राथमिकतामा राख्दछन् । विवरणात्मक सूचकहरूको प्रयोग न्यून देखिन्छ । यसले गर्दा विद्यार्थीको सर्वाङ्गीण विकास ओझेलमा परेको छ । यो विद्यार्थीका मौलिकता बेवास्ता भएको स्थिति हो ।


पाठ योजनका विशिष्ट लक्ष्यहरू सँग मूल्याङ्कन संरेखित नहुनु, सूचना सङ्कलन मात्र प्राथमिकतामा पर्नु, सीमित रणनीति र औजारका प्रयोग हुनु, निर्माणात्मक मूल्याङ्कनलाई कम प्राथमिकतामा राख्नु, मूल्याङ्कनका तथ्यांकको प्रयोग नगरिनु जस्ता समस्या सँग हामी जुधिरहेका छौ ।


एसईई र कक्षा १२ को परीक्षाको परिणामले हामी शिक्षणमा मात्र होइन, मूल्याङ्कनमा पनि पछि परेको प्रमाणित गर्दछ । विद्यालयहरूले विद्यार्थीलाई लक्ष्य निर्देशित शिक्षा प्रदान गर्ने परिपाटीलाई प्राथमिकतामा नराख्दा यस्तो भएको पनि हुनसक्छ र नीति निर्माताहरूले यो विषय अनुसन्धान गरेर मात्र निक्र्यौल गरि तद्अनुरुप पद्धतिको विकास गर्न पर्छ ।


मूल्याङ्कनको एउटा समग्र प्रणाली विकास गर्न नीतिगत तहमा गम्भीर छलफल हुनु जरुरी छ। यसलाई सार्थक गर्न विशेषज्ञहरूको टोलीले सहकार्य गर्ने र मूल्याङ्कनको विषयलाई यसको कार्यविधिमा नितान्त केन्द्रित गर्ने र राजनीतिबाट पर राख्नु उचित हुन्छ ।


स्तरीय प्रणालीको विकास भए पछि पनि त्यसैलाई अन्तिम मानिनु हुँदैन । त्यसमा समय सापेक्ष परिवर्तन र समायोजन पनि गरिनु पर्दछ यसका लागि बाटो खुला राखिनु पर्छ ।


शिक्षा अनुसन्धानमा आधारित रहेर यो प्रणालीलाई कार्योन्मुख, छरितो र दक्षतापूर्ण राखिरहन अविच्छिन्न प्रयत्न गरियो भने हामीले पनि एक उत्कृष्ट मूल्याङ्कनको परिपाटी बसाल्न सक्छौ ।


आसा छ, नीति निर्माताहरूले उल्लिखित तथ्यहरूलाई मध्यनजरमा राखेर मूल्याङ्कन प्रणालीलाई विकसित गर्ने छन् । हाम्रा विद्यार्थीले आफ्नो सहि मूल्याङ्कन भएको महसुस गर्नेछन् । लेखक प्रविज्ञ रेग्मी ज्यू मिलिनियम स्कुलका संस्थापक निर्देशक हुन ।