अमूर्त गुणस्तरको रहर

काठमाडौँ /१२ कार्तिक- हामी अमूर्त बोल्नमा खप्पिस छौँ । दलैपिच्छेका शब्द संयोजनले त्यसै भन्छ । नेपाली काँग्रेसको समाजवादी शिक्षा । एमालेको जनमुखी शिक्षा । माओवादीको जनवादी शिक्षा । राप्रपाको राष्ट्रवादी शिक्षा । चन्दवादीको वैज्ञानिक समाजवादी शिक्षा । संविधानको समाजवाद उन्मुख शिक्षा । त्यो भनेको के हो रु यी शब्द बोक्नेहरूसँग यसको गहन अध्ययन छैन । उत्तर दिने सामर्थ्य पनि छैन । देश चलाउनेहरूसँग यी शब्दहरूको साझा सोच के हो भन्ने धारणा पनि बनेको छैन । यस अर्थमा हामी अमूर्त बोली बोल्ने मान्छेहरूको जमात हौ ।


अमूर्त बोल्ने बानीको निरन्तरता राष्ट्रिय गानमा पनि देखिन्छ । सधैँ राष्ट्रिय गानमा भनिने शब्दको अर्थसम्म नजानी हामी घोकिरहेछौ । घोकाइरहेछौँ । सार्वभौम । ज्ञानभूमि । शान्ति भूमि । अखण्ड । बहुल जाती । बहुल भाषा । बहुल धर्म । बहुल संस्कृति । अग्रगामी राष्ट्र । कति जनाले बुझेका हौला । दुर्भाग्य त अर्को भेटिन्छ तब जब त्यही राष्ट्रिय गान घोकाउने ब्यक्ति घोकन्ते शिक्षा भनेर सडकमा कराइरहेछौँ । कति कक्षामा आएपछि विद्यार्थीले राष्ट्रिय गानको अर्थ बुझ्ला रु अथवा शिक्षकले बुझाउला रु कहिले विद्यार्थीले खोज्ला रु कहिले विद्यार्थीको सोचाइमा यी शब्दहरूको अर्थ खोज्ने रहर बन्ला ?


राजनीतिक दलहरू पनि यही घोकाउने काम गरिरहेका छौँ । समाजवाद उन्मुख राज्य व्यवस्था । त्यो व्यवस्थामा के हुन्छ ? त्यो चाहिँ भन्न सक्तैनौँ । नेपाली काँग्रेसको लोकतन्त्रमा समाजवाद भनेको के हो ? बिपी कोइरालाले भने जस्तो साम्यवादमा प्रजातन्त्र थप्ने हो त ? त्यसो भए सरकार नियन्त्रित अर्थतन्त्रमा प्रजातन्त्र हुन्छ त ? साम्यवादी अर्थतन्त्र उदार हुन्छ त ? चीनले जस्तो अर्थतन्त्र चाहिँ उदार । प्रजातन्त्र चाहिँ आफ्नै खालको । यसो भन्ने हो भने ? हो भने उदारवादी अर्थतन्त्रले त असमान आर्थिक अवस्थालाई निरन्तरता दिन्छ । के त्यो स्वीकार्य हो त ? त्यसो भए केमा चाहिँ समाजवाद खोजेको हो ? त्यो पनि कस्तो खालको रु यो पनि जनस्तरले बुझने भाषामा भन्न सक्ने कोही छौँ त ? ।


यही दशा मार्क्सवादी र लेनिनवादी नेताहरूको छ । मार्क्स विमति राख्न सिकाउँछन । सर्जक बन्न सिकाउँछन । उच्च वर्गको विरोध गर्न सिकाउँछन । सर्वहाराको पक्षधर बन्न सिकाउँछन । व्यक्तिगत धन सम्पति नराख्न सिकाउँछन । श्रममा बाँच्न सिकाउँछन । लेनिन चाहिँ बल प्रयोग गर्न सिकाउँछन । यो चिन्तन बोकेकाहरूले नैँ संविधान लेख्यौँ । त्यहाँ भन्यौँ व्यक्तिगत स्वतन्त्रता । अभिव्यक्ति स्वतन्त्रता । सम्पत्तिको अधिकार । के साम्यवादीले खोजेको यही हो र ? हो भने कसरी साम्यवादी भयौँ ? हैनौँ भने किन हामी साम्यवादी हौँ भनिरहेछौ ? समाजवाद उन्मुख बन्दा के हुन्छौँ ? के गर्छौँ ? त्यस्तै माओले समता दिन खोजे । राज्यको सम्पति हुने । ब्यक्तिले काम गरेर खाने । सम्पत्ति पनि ब्यक्तिसँग नहुने । माओवादीको अवस्था के छ ? त्यसो भए समाजवाद उन्मुख भनेको के हो ? कस्तो हो ? कमसेकम माओवादीले बुझेको समाजवाद उन्मुख भनेको के हो ?


अर्को पाटोबाट हेरौँ । संविधानमा उल्लेख गरिएका सबै मौलिक हक पूरा भएको समाज नैँ समाजवाद उन्मुख हो त ? त्यसो हो भने किन बनाउँदैनौँ विधागत नीति, ऐन, नियमावली, कार्यविधि आदि । किन बन्दैन धारा ३१.५ कार्यान्वयन गर्ने नीति । किन बन्दैन धारा २४ तथा ४१ को कार्यान्वयन गर्ने नीति ? नीति बन्नासाथ कार्यान्वयन हुन्न भन्ने कुरा हामीलाई थाहा छैन र ? अदालतले नीति, ऐन, नियमावली, तथा कार्यविधि एकसाथ खोज्छ भन्ने कुरा कसलाई थाहा छैन र ? संविधानको धारा ३१ को अनिवार्य तथा निःशुल्क शिक्षा लागुगर्न २०७५ को नीति छ । २०७७ को नियमावली पनि छ । किन लागु हुन्न त यो नीति ? त्यसो हो भने के भन्ने हो जनतालाई ? यस अर्थमा हामी दलमा पनि अमूर्त बोली नैँ बोलीरहेछौँ ।


अमूर्तलाई मूर्तिकरण गर्ने बाटो


सबै बादीले आ-आफ्ना सिद्धान्त जानेका हौंला । शब्द घोकेकै हौला । अर्थतन्त्रको आकार चिनेकै हौला । यो परिवेशमा हामीले गरेका अपेक्षा त भन्न सक्छौँ नि । शिक्षामा गरेका अपेक्षा । निःशुल्क शिक्षा । अनिवार्य शिक्षा । सबैलाई शिक्षा । व्यावसायिक शिक्षा । गुणस्तरीय शिक्षा । यदि यसो हो भने हामीले सरकारका सबै तहमा यस्तो छलफल गराए हुन्न र रु सबै तहमा छलफल गर्दा केही समानता त देखिएला नि १ केही असमानता पनि त चिनिन्छ होला नि १ त्यही विज्ञको खोजी पनि त होला नि १ यो काम किन गरेनौँ रु किन गराएनौँ रु राजनीतिक दलले त जान्नुपर्ने हैन र ?


निःशुल्क शिक्षा साझा एजेन्डा बन्न सक्छ । तर रकम दिने कस्ले हो ? अभिभावकले दिने हो ? कसरी दिने ? आम्दानीको निश्चित प्रतिशत ? त्यो भनेको कति हो ? त्यसोभए गरीबले आम्दानीको १ प्रतिशत दिने हो ? धनीले २० प्रतिशत दिने हो ? यो तरीकाले प्रगतिशील कर प्रणाली लागु हुन्थ्यो । सबैको साझेदारी हुन्थ्यो । हैन कसैसँग पनि नलिने हो भने पालिकाहरूले सबै पैसा हालौँ न त । त्यो पनि सकिन्न भने अर्को उपाय पनि खोजौँ न त । भन्ने बस्तुवादी । गर्ने मनोवादी । अर्थात् हाम्रा अमूर्त शब्दको बस्तुवादीकरण गरौँ न त ।


अनिवार्य शिक्षा चाहेको हो भने सबैलाई स्कुलमा ल्याउने कि ? जो जहाँ छन त्यहीँ सिकाउने कि ? बेला बेलामा जम्मा हुन सक्छन कि ? अनेक कुरा सोधौँ न त ! त्यही सोधाइको आधारमा योजना बनाउँन त ! एकातिर गरिबी छ पनि भन्छौँ । अर्कातिर पढने अधिकारको पनि कुरा गर्छौँ । तेस्रोतिर उनीहरूलाई स्कूलमैँ काम गरेर कमाउने परिवेश पनि बनाउँन सक्तैनौँ । तिम्रा छोराछोरी मैं पढाउँछु भन्न पनि सक्तैनौँ । यहाँ पनि हामी मूर्त बन्न किन सक्तैनौँ । नसक्नेलाई पालिकाले पाल्छौँ । सक्ने आफैँ गर भने त हुन्थ्यो नि । भारतको एम भी फाउण्डेशनको तीन महिने बन्द क्याम्पमा पढने जस्तो । अभिभावकले जे सक्छन त्यही सघाउने । नसक्नेलाई पालिकाले निःशुल्क शिक्षा दिने । यस्ता अनेकन वस्तुगत अभ्यासहरू छन । स्वदेशमा । विदेशमा । ती अभ्यासहरूको किन खोजी गर्दैनौँ ? किन लागु गर्दैनौँ ? किन अनिवार्य शिक्षा दिने काम फलानोको भनी तोक्तैनौँ ? यति गरे त अनिवार्य शिक्षाको मूर्तिकरण त हुन्थ्यो नि ! त्यो काम किन नगरिएको हो रु नजानेर कि नचाहेर ? यसको जबाफ त कसैले दिनुपर्ने होला नि !


अनिवार्य सीप तेस्रो एजेन्डा बन्न सक्छ । त्यो एजेन्डाले सीप सिकाउने संस्था खोज्दैन । ब्यक्ति खोज्छ । प्रविधिमा सामग्री खोज्छ । अर्थात् विद्यार्थीको प्रोफाइल बनाउने शिक्षक खोज्छ । तिनले चाहेको सीपको सूची बनाउने स्तम्भ खोज्छ । तिनले जानेको सीपको स्तम्भ खोज्छ । तिनका अभिभावकले जानेका सीपको स्तम्भ खोज्छ । यति हुनासाथ तत्स्थानमैँ सीप शिक्षक भेटिन्छ । पुराना सीपका । नयाँ सीपका । दैन्दिनी सीपका । यति गर्ने हो भने न तालिम केन्द्र चाहिन्छ । न स्थायी शिक्षक चाहिन्छ । चाहिने कुरा हो प्रविधिमा सबै खाले सीप अपलोड गर्ने जनशक्ति । त्यो पनि पालिकाले नैँ गर्नसक्छ । आफना पालिकामा भएका सीपहरू खोज्न । पुरानो तथा नयाँ सीप जान्ने स्थानीय ब्यक्ति खोज्न । अरू सीप विद्यार्थीले प्रविधिमा सिक्छन । एक अर्कालाई सिकाउँछन । स्थानीय स्रोतव्यक्तिसँग सिक्छन । पालिका तहमैँ त्यस्ता श्रोत ब्यक्तिको सञ्जाल बनाए हुन्छ । प्रविधिमार्फत तिनलाई अद्यावधिक गरे हुन्छ । सीपवालालाई कमाउँन दुई कुरा भए पुग्छ । लगानी र बजार । पालिकाले एउटा कोष बनाए लगानीकोे गर्जो टर्छ । विद्यार्थीको अनिवार्य बचत गराए भोलिको समस्या टथ्र्यो । अनि विद्यार्थीले जे उत्पादन गरे पनि किनिदिने पालिका भए सीप शिक्षाले पूर्णता पाउँथ्यो । सीपमा ज्ञान विज्ञान, तथा प्रविधि खोज भन्ने शिक्षक भए पढाइ र गराइ पनि जोडिन्थ्यो । यसो गर्न न लगानी चाहिन्छ न त जनशक्ति । खाली रहर भए पुग्छ । सीपको अमूर्तताले मूर्त रूप पाउँछ । प्रश्न हो —किन यसो गर्न चाहदैनौँ हामी रु यसमा त सबैको सहमति जुटनुपर्ने हैन र ?


गुणस्तरीय शिक्षा अर्को एजेन्डा हो । त्यो भनेको के हो रु यसको जवाफमा आएका उत्तरले खाका दिन्छ । प्रतिस्पर्धी शिक्षा । स्वदेशमा । विदेशमा । यसो हो भने गुणस्तरको मानक बनाए हुन्छ । बिना मानक प्रतिस्पर्धा हुन्छ र ? मानक बनाउँन केही गाह्रो छ र ? यजुर्वेदले भनेझैँ प्रश्न गर्ने विद्यार्थी गुणस्तरीय हो । पाउलो फ्रेरे भनेझैँ मौनको संस्कृति तोडने ब्यक्ति गुणस्तरीय हो । मार्क्सको भाषामा पुँजीवादी संरचनालाई प्रश्न गर्ने विद्यार्थी गुणस्तरीय हो । बुद्धको भाषामा आफैँलाई प्रश्न गरेर अप्पदीपो भवः हुने विद्यार्थी गुणस्तरीय हो । साझा कुरा के हो भने प्रश्न गर्न जान्ने विद्यार्थी गुणस्तरीय हुन्छ । जस्को भनाइ माने पनि भयो । बुद्धले भनेजस्तो अप्पदीपो भवः गरे पनि भयो । कस्का पछि लाग्ने ? यो रहर हो । बुद्धको सोचमा मेरो पछि पनि नलाग ।
गुणस्तरको अर्को कडी भनेको वहुश्रोतबाट सिक्ने अभ्यास हो । किताब के भन्छ ? घर परिवार के भन्छ ? बजार के भन्छ र ? कम्प्युटर के भन्छ ? शिक्षक के भन्छ ? आफ्नै अनुभव के भन्छ ? यसरी वहुश्रोतबाट ज्ञान लिने प्रबन्धले महाभारतको शान्तिपर्वको भनाइ सम्झाउँछ । भनाइ यस प्रकार छ


आचार्यात्पादमादत्तेपादंशिष्यःस्वमेधया।

सब्रह्मचारिभ्यःपादंपादंकालक्रमेणच॥


यो चिन्तन बोक्नासाथ स्वतः गुणस्तर बढछ । अनुसन्धानात्मक चेत हुन्छ । त्यसको तरीका जानिन्छ । वहुसत्य थाहा हुन्छ । निर्णय आफैँ गर्नुपर्छ भन्ने तागत बन्छ । पुर्खाका पुस्तकमा तागत रहेछ भन्ने बुझिन्छ । आधुनिक र पुरातनको मिलनविन्दु चिनिन्छ । त्यो विन्दुले चिन्तन चक्रीय हुँदो रहेछ भन्ने ज्ञान बन्छ । धर्सीय सोचको सीमा चिनिन्छ । कोलम्बस भारत खोज्न जाँदा अमेरिका पुगेको गुत्थी थाहा हुन्छ । यो कुराको अभ्यास गर्न जोसुकैले सक्छ । गर्ने कि नगर्ने भन्ने मात्रै प्रश्न हो ।


बस्तुलाई स्थिरमा बुझ्ने एउटा तरीका हो । स्थिर मानेर बुझ्ने अर्को तरीका हो । गणित पढाउने शिक्षकले मानौँ भनेजस्तो । अनि गतिमा बुझ्ने तेस्रो तरीका हो । यी तिनै तरीका अभ्यासमा छन । यसरी बस्तुलाई बुझ्नु गुणस्तरको अर्को कडी हो । भात पकाउने साधनले यसको जवाफ दिन्छ । दाउरामा । स्टोभमा । प्रेसर कुकरमा । राइस कुकरमा । इण्डक्सन चुलोमा । माइक्रो वेभमा । अन्ततोगत्वा स्वादको निम्ति दाउरामा । छिटोको निम्ति इण्डक्सनमा । माइक्रो वेभमा । यसबाट बुझिन्छ कि मान्छे चक्रीय हो । उ चक्र पनि बुझ्न चाहन्छ । छुट्‍टै पनि बुझ्न चाहन्छ । यसरी दुबै कुरा एकसाथ सिक्न तथा सिकाउँन सकेमा मात्र गुणस्तरीय शिक्षा हुन्छ । स्थिरतामा हेर्दाको ज्ञान पनि बुझिन्छ । गतिमा जानिने ज्ञान पनि बुझ्न सकिन्छ । यी दुबै चाहना पूरा हुनासाथ शिक्षा गुणस्तरीय बन्छ ।


प्रविधि प्रयोग गुणस्तरको अर्को मानक हो । परम्परागत प्रविधि जानेको । नयाँ प्रविधिमा त्यसको एनिमेशन गर्ने सीप जानेको । प्रयोग जानेको । यसो गर्नासाथ ब्यक्ति जनस्तर पनि जान्दछ । आधुनिकता पनि बुझ्छ । अर्थात् ३६ वटा जौको एक अम्मल हुने जानेको । एक अम्बलमा पौने एक इन्च हुन्छ भन्ने कुरा पनि जानेको । यति गर्नासाथ ऋग्वेद जोडिन्छ । आधुनिक गणित जोडिन्छ । स्थानीय ज्ञान जोडिन्छ ।


एक्काइसौँ शताब्दीले खोजेका केही मान्यताहरू छन । सिर्जनशीलता । समालोचकीय क्षमता । सहकार्य । अन्तरपुस्तेनी संवाद । यी गुणहरू भिन्नै होइनन । एकसाथ जोडिने हुन । हर बस्तुलाई भिन्न भिन्न तरीकाले बुझ्नासाथ मान्छे सर्जक बन्ने आधार बन्छ । त्यही भिन्न तरीका खोजे हुन्छ । भिन्न प्रस्तुति हेरे हुन्छ । बस्तु बुझ्ने क्रममा के गुण के दोष भनी हेर्नासाथ मान्छे समालोचक बन्छ । बुद्धको शब्दमा मेरो पछि नलाग म कति टाढा लैजान सक्छु र रु आफैँ खोज । यो तरीकाले ब्यक्ति स्वतः समालोचक बन्छ । सर्जक बन्छ । प्रविधिले सहकार्य सहज बनाएको छ । मैले यसको उत्तर जानिन । कोही भनिदिनुहुन्छ कि ? यति भन्नासाथ सहकार्यको थालनी हुन्छ । स्वदेशको सहकार्य । विदेशको सहकार्य । सहकार्यले सम्वाद निम्त्याउँँछ । अन्तर पुस्तैनी । अन्तरधर्म । अन्तरभाषिक । अन्तरसांस्कृतिक । यस्ता मानक बनाउने हो भने हाम्रा सोचहरू मूर्त बन्दै जान्छन ।


निचोड


लेखमा मैले अमूर्त शब्दहरूको आंशिक सूची दिए । ती सूचीमा मूर्त बनाउने केही तरीका दिएँ । गर्न सकिन्छ । गरौँ भन्ने सन्देश दिएँ । स्वदेशका नमुना दिएँ । अनि अमूर्त शब्दलाई मूर्त बनाउने काम शिक्षकको हो भनेँ । यति गर्नासाथ हामी गुणस्तरका सहज व्याख्याता हुन्छौँ । प्रयोगकर्ता हुन्छौँ भनेँ । रहर गरौँ शब्दको अल्झो नकसौँ । बरु फुकाउँन थालौँ । यसका लेखक शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला हुन् ।