अबको शिक्षकले पढाउने मात्र कि सिकाउने पनि ?

काठमाडौँ /२८ असोज – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले देशको विद्यमान शैक्षिक गतिविधि र क्रियाकलापहरूमा खबरदारी, अध्ययन, अनुसन्धान र नीतिगत बहसहरूमा पैरवी गर्दै आइरहेको छ । विश्वविद्यालयको सेन्टर Continuing and Professional Education Centre (CPEC)ले शिक्षकहरूको पेसागत विकास–क्षमता अभिवृद्धिमा पालिका स्तरीय, प्रदेश स्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमा शिक्षा क्षेत्रमा योगदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा रहेर सेन्टरले गरेको आन्तरिक अनुसन्धानमा संस्थागत तथा सामुदायिक विद्यालयहरूको आवश्यकताको पहिचानमा हामीले केही साझा आवश्यकता, समस्या, भोगाइहरू र केही राम्रा अभ्यासहरू साक्षात्कार गरेउँ । ति मध्ये आधारभूत मापदण्ड, सहकार्य तथा समन्वयको भूमिका, निरन्तर सिकाईका बारेमा शिक्षा क्षेत्रमा प्रत्यक्ष र परोक्ष जोडिने सरोकारवालाहरूले अझ बढी ध्यान दिन आवश्यक छ ।


शिक्षा देश विकासको मेरुदण्ड हो । यसमा कुनै दुई मत रहेन । राष्ट्रको विकास जनताको जीवनस्तरसँग जोडिएको हुन्छ । गुणस्तरीय जीवन मापन गर्ने सूचकहरूमा शिक्षाले हरेक सूचकलाई बाँधेको हुन्छ । तसर्थ शिक्षा प्रदायक संघ–संस्था, शिक्षक, अगुवा, प्रधानाध्यापक, अभिभावक शिक्षकका संगठनहरू, नीति निर्माता एवम् साधारण व्यक्ति जो कोही पनि शिक्षाका सरोकारवाला हुन् । बेला–बेलामा शैक्षिक क्षेत्रमा के भैरहेको छ ? कस्ता किसिमका नीतिगत बहस चलीरहेका छन् ? हरेक व्यक्तिले थाहा पाउनु पर्ने हुन्छ । साथै थाहा नभएको अवस्थामा जनचेतना फैलाउन जरुरी छ । यस्तो संवेदनशील विषयमा यस क्षेत्रमा जोडिने हरेक प्रत्यक्ष व्यक्तिहरूले आधारभूत मापदण्डको पालना गर्नुपर्ने देखिन्छ । शिक्षकहरूको हकमा पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन, विद्यार्थीको मानसिकता, विषयवस्तुको ज्ञान, प्रविधिको प्रयोगमा नेपाल सरकारले दिएको आधारभूत सक्षमता कायम गर्नु पर्ने देखिन्छ । ठाउँ, परिवेशको सन्दर्भमा रहेर अझ बढी क्षमता र गुणमा काम गर्नु पर्ने आवश्यकता छ ।


विद्यालयहरूको अगुवा प्रधानाध्यापकको हकमा आफ्नो शैक्षिक थलोको आवधिक योजना, जुझारु पना, प्रशासकीय कुशलता तथा शैक्षिक गतिविधिलाई सन्तुलित राखेर शिक्षालाई कक्षा कोठासम्म मात्र सीमित नराखेर, विद्यार्थी, शिक्षक, अभिभावक, समुदायलाई जोडेर लैजान र समाजलाई सशक्त बनाउन जरुरी छ । हरेक नागरिकले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्नु पर्ने कर्तव्य बोध मात्र भए पनि साधारण समस्याहरू समाधान भएर जान्छन् ।


त्यसैगरी सरकारको हकमा भूमिका कस्तो रहने र कहाँ–कहाँ, कसरी सहयोग गर्ने भन्ने विषयमा पनि समस्या देखिन्छ, नीतिगत छलफलहरूमा सहभागिता, अनुसन्धान मूलक र मौलिक शिक्षाको जगेर्ना गर्नुपर्ने कुराहरू, प्रश्न गर्ने, सुधार योजना बनाउने, आफ्नो भू–बनोट, जनता, अहिलेको आवश्यकता अनुसार समग्र सरोकारवालाहरूलाई जोडेर लैजानु पर्ने आवश्यकता देखिन्छ । पालिकाहरूले आफूलाई केन्द्रले दिएको अधिकारको उचित प्रयोग गर्दै आफ्ना मातहतमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गराउन कार्यक्रमहरू बनाउने तथा बजेटको बाडफाड गरेर सोही अनुसारको सहकार्य, अनुगमन तथा मुल्यांकनलाई विद्यालय सुधारको रणनीतिक योजनामा अवलम्बन गर्न सक्छन ।


यस्तो सहकार्य साझेदारीमा विश्वविद्यालयको भूमिका कस्तो रहने कस्तो जनशक्ति तयार गर्ने भन्ने विषयमा पनि अब प्रत्येक शैक्षिक जनशक्ति तयार गर्ने संस्थाहरूले सैद्धान्तिक र व्यवहारिक अभ्यासलाई सन्तुलन गरेर अगाडी बढ्नुपर्ने देखिन्छ । काठमाडौँ विश्वविद्यालयको यस सेन्टरले कामसँगै सिप, ज्ञान, मूल्य मान्यता र संस्कृतिलाईसँगै अगाडी बढाउने उदेश्य राखेको छ ।


आधारभूत मापदण्डलाई अझ सुध्रिड गर्दै आजको गतिशीलताबिचको सहयोग र समन्वयमा पनि हाम्रा समस्या र धारणमा केही हदसम्म समानता पाएका छौँ । हरेक सजिब निर्जीव बिचको अन्तर सम्बन्ध र यसको महत्व हाम्रो बुझाईमा मात्र सीमित भयो कि जस्तो लाग्छ । शिक्षाको कुरा गरिरहँदा बदलिदो समय, प्रविधिको प्रयोग र पछिल्लो समयमा विश्वले नै प्रविधिमा गरेको क्रान्तिमा हामीले गर्ने सहकार्य, साझेदारीको महत्व कस्तो रहने र हरेक व्यक्ति सबै विषयमा पोख्त हुनै पर्छ भन्ने मानसिकतालाई चिरेर लैजानु आजको आवश्यकता हो । यति भनि रहँदा आफ्नो दक्षत, विषयगत ज्ञानमा पोख्त गराउने क्रममा निरन्तर सहकार्य गर्नु पर्दछ । शिक्षा सबैको साझा एजेन्डा हो । कसैको व्यक्तिगत पहलमा एक जनाले मात्र यसमा परिवर्तन ल्याउन र त्यसमा दिगोपनाको औचित्य खोज्नु जायज भएता पनि त्यसले समाजलाई पार्ने प्रभाव कहिलेसम्म र किन भन्ने प्रश्न उठ्न सक्छ ।


कतिपय पालिकामा तथा विद्यालयमा व्यक्तिगत पहलमा शैक्षिक विषय, पेसागत विकास विद्यार्थी सिकाइ जस्ता विषय नजर अन्दाज हुने तर अत्यावश्यक मानिने गुणस्तरीय शिक्षाको आधारभूत पक्षलाई सबै भन्दा बढी प्राथमिकतामा राखिएको देखिन्छ । सरोकारवालाहरूलाई कहाँ र कसरी जोडेर लैजाने, कसको भूमिका के रहने, सहयोग चाहिँदाकोसँग समन्वय गर्ने भन्ने विषयमा स्पष्ट धारणा रहेको पाइएको छ ।


हाम्रा राम्रा अभ्यासहरूलाई आफूसँग मात्र सीमित नराखेर आफ्नो समूहमा छलफलको विषय बनाउने, आफ्नो पेसागत कुराकानीलाई पनि मीटिङ्ग अन्य ठाउँहरूमा दैनिक छलफलमा ल्याउन पर्ने अवस्था देखिन्छ । शैक्षिक गतिविधिमा शिक्षकहरूको पेसागत सिकाईलाई अझ बढी जोड दिनु पर्ने अवस्था छ । कुनै कुनै ठाउँमा हामीले शिक्षकहरूलाई अन्तर्वार्ता लिने क्रममा वा भनौँ छलफलको क्रममा सिकाईसँग नजोडिएका विषयहरू जुन अनुत्पादक हुन्छन ति विषयहरू अन्य अत्यावश्यक विषय भन्दा बढी स्थान दिएको देखिन्छ । चेतनाको स्तरको कुरा गरिरहँदा समाजले सबैभन्दा धेरै आकाङ्क्षा राख्ने बौद्धिक वर्ग अन्तर्गत शिक्षण पेशालाई संसार भर नै बढी सम्मान र आदरभावले हेरिन्छ । एकले अर्कालाई सहयोग नगर्ने, आत्मालोचनाको कमि र केही कठिन परिस्थितिमा दोषारोपणको संस्कृतिले हाम्रो शिक्षा क्षेत्रलाई कतै नलैजाने र हामी आफैको अस्तित्व सम्मानलाई आफैले नै संकटमा राखेको अवस्थाहरू धेरै ठाउँहरूमा देखिएको छ ।


शिक्षकहरूमा भएको त्यो चेतनालाई सहि ढंगबाट, सम्मान गर्दै, मार्ग निर्देशन गर्दै कक्षा कोठासम्म शिक्षकको उर्जालाई हामीले लैजान सकियो भने पनि विद्यार्थी र समाजलाई धेरै सहयोग हुने छ । सिकाइमा सहयात्रा गर्ने क्रममा विद्यार्थीको पूर्व ज्ञानको पनि सम्मान हुनुपर्छ । विद्यार्थी केन्द्रित सिकाईमा पढ्दै लेख्दै सहजीकरण गर्दै अगाडी बढ्नु पर्ने वातावरणको सिर्जना गर्न सक्नुपर्छ । अबको शिक्षकले पढाउने मात्र कि सिकाउने पनि ? पढ्ने लेख्ने काम विद्यार्थीको मात्र हो त ?


आधारभूत मापदण्ड, सहकार्य, समन्वय तथा ज्ञानको निर्माणमा प्रत्येक व्यक्ति, संस्थाको विशिष्टतालाई कदर गर्नु पर्दछ । हरेक व्यक्ति आफैले एउटा परियोजनाको ढंगबाट बुझ्ने प्रयासको थालनी हुनु पर्छ । के तपाई हामी अरू मानिसहरू भन्दा फरक छैनौ र ? हामी सबैको फरक क्षमता हुन्छ । विद्यमान परिस्थितिको मुख्य समस्या नै यहीँ रहेको पाउँछौँ । एउटा चेतनशील व्यक्तिले आफ्नो विशिष्टताको प्रयोग गर्छ भने उसको मूल्य मान्यताले उसको सिकाइको क्रममा आफैलाई र अरूलाई पनि प्रोत्साहन गर्न सिकाउँछ । यसका लागि वातावरण पनि दिनु पर्दछ । शिक्षा क्षेत्रको रूपान्तरणको साझा लक्ष्य प्राप्तिको यात्रामा रहेका हरेक व्यक्तिले सद्भाव पूर्ण ढंगबाट ज्ञान, सिप, संस्कार, मूल्य र मान्यतालाई मध्येनजर राख्दै अगाडी बढ्नु आजको समाजको आवश्यकता हो ।


एउटा अनुभव हाम्रो यस्तो पनि रह्यो, जहाँ शिक्षाका हरेक मुद्दा साझा हुन्छन र साझा एजेन्डाको रूपमा लिइएका छन्, त्यो समाज रूपान्तरित भएको छ । विद्यालय, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ–समुदाय सचेत छन् र हरेक बेथितिमा खबरदारीको क्रियाकलाप भएको छ । वर्षेनी लाखौँ युवाहरू देशमा अवसर नदेखेर विदेशिएको अवस्थामा यहाँको प्रणालीको पैरवी गर्नमा सरकार, विश्वविद्यालय, नागरिक समाजको भूमिका अतुलनीय नै देखिन्छ । आफ्नो क्षमता, दक्षतालाई सामाजिक कार्यमा थोरै मात्र पनि प्रयोग गर्न सकियो भने शिक्षामा एक किसिमको रूपान्तरण सम्भव छ ।


नेपाली समाजको चुनौतीहरूलाई केलाउँदै जाने हो भने साना तिना समस्याहरूको समाधान आफ्नै तहबाट गर्न सकिने कुराहरू स्पष्ट छ । हामी कहाँ चुकेका छौँ भनेर सरसर्ती हेर्दा एउटा व्यवस्थाको बेथितिमा शिक्षक, अभिभावक, प्रधानाध्यापक, विद्यार्थी र पुरै समाज नै कहिलेै माथि आउन नसक्नेगरी दल दलमा फस्दै गएको जस्तो आभास हुन्छ । के देश विकासमा शिक्षासँगै शिक्षकको योग्यताको कदर हुनु पर्दैन ? राम्रो गरेका शिक्षकहरू सम्मानका पात्र हुन् कि हैनन् ? हामी को हौ ? किन यहाँ छौ ? के गर्दै छौ ? कसका लागि गर्दैछौ ? भन्ने प्रश्नको उत्तर एउटा जिम्मेवार नागरिक भएर दिन सकियो भने आजको समाजको आधारभूत शैक्षिक आवश्यकता पुरा हुने देखिन्छ ।


नेपाल आफैमा भौगोलिक जटिलता, बहुजातियता, संस्कृति र सभ्यतामा अरू भन्दा फरक राष्ट्र हो । एक ठाउँमा प्रयोग गरिएका शिक्षाको मोडेल अर्को ठाउँमा यिनै कुराहरूले गर्दा सफल नहुन पनि सक्छ । तर, जुन सपना तपाई हामीले देखका छौँ, एउटा वास्तविक शिक्षकले देखेको छ, त्यो सम्भव छ । यदि हामीले सबैको पेसागत तथा व्यक्तिगत विकासमा सरकार, विश्वविद्यालय, स्थानीय तह, अभिभावकहरूको उचित तथा निरन्तर अनुगमन र मुल्यांकन प्रवृत्ति स्थापित गर्न सकियो भने शिक्षामा रूपान्तरण सम्भव छ । यसका लागि नागरिक समाज, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतले अबको दिनमा सक्रिय भूमिका खेल्न सक्नु पर्छ ।


अन्तमा यसरी छरपस्ट रहेका मुद्दाहरू, विभिन्न निकायहरू र व्यक्तिहरूलाई एउटै डोरी भित्र बाधेर अगाडी बढाउने काममा हाम्रो भूमिका अझ बढी रहेको पाएका छौँ । यो निरन्तर सिकाइको यात्रामा हाम्रा समस्याहरू र आवश्यकताहरू यतिमै सीमित रहने छैनन् । पक्कै पनि आज भन्दा भोलिका दिनहरू अझ बढी चुनौती पूर्ण रहने छन् र यस्तो विषम परिस्थितिमा हाम्रो मानव संसाधन तयार गर्ने कल्पना सेन्टरले गरिरहेको छ ।


यो लेख निजी तथा सामुदायिक विद्यालयका कक्षा कोठासम्म पुगेर काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत रहेको सिपिइसी संयोजक डा. पार्वती ढुङ्गाना र सरिता खड्काले तयार पार्नु भएको हो । Parbati Dhungana, PhD Full-Time faculty @ Kathmandu University School of Education, Co-ordinator @ Continuing Professional Education Centre (CPEC, KU). Sarita Khadka MPhil Scholar @ Kathmandu University School of Education Teacher Educator @ Continuing Professional Education Centre (CPEC, KU).