काठमाडौँ /१९ असोज – कक्षा ८ मा पढ्ने सिर्जना सिग्देल हरेक दिन नयाँबानेश्वर घरदेखि कालीमाटीमा रहेको स्कुल पुग्छिन् । स्कुल जानका लागि उनलाई हरेक दिन ७ किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्छ । १० बजे सुरु हुने स्कुल पुग्न उनलाई झन्डै २ घण्टाअगाडि नै तयार भइसक्नुपर्छ । बिहान ८ः१५ मा बस आइपुग्छ र कालीमाटीसम्मको दूरी उनी काठमाडौँका गल्लीहरू तय गर्दै पूरा हुन्छ । सामान्यतया यो दूरी पार गर्नका लागि १५ मिनेट भए पुग्छ । तर स्कुल बस हरेक बालबालिकालाई लिएर जानुपर्ने भएकाले उनलाई झन्डै २ घण्टा खर्च हुन्छ । यसरी हरेक दिन लामो समय खर्चेर स्कुल जान सिग्देललाई मनपर्दैन् । भन्छिन, “लामो दूरी पार गरेर स्कुल पुग्दा भोक लागिसक्छ, थकाइका कारणले पढ्न समेत मन लाग्दैन ।”
उनी त एक प्रतिनिधि पात्र मात्रै हुन । यसरी हरेक दिन राजधानीका गल्ली चहार्दै घण्टौँ खर्चेर स्कुल पुग्नेहरूको सङ्ख्या ठूलो छ । राम्रो स्कुलको खोजीमा अभिभावकहरू आफ्ना सन्तानलाई टाढाभन्दा टाढाको स्कुल पु¥याउन सहजै मान्छन । एकातिर राम्रो स्कुल पनि चाहिने र अर्कोतिर भाडामा बस्नेका लागि स्कुल नजिकै कोठा पनि नपाइने कारणले यस्ता समस्या दोहोरिन्छन् ।
सामान्यतया स्कुल ९ देखि १० बजेसम्म सुरु भइसक्छ । त्यसका लागि बालबालिका बिहान ७ बजेदेखि नै तयार हुनैपर्छ । एक त टाढाको स्कुल अर्कोतिर छिट्टै स्कुल पुग्नु पर्ने बाध्यताले गर्दा विद्यार्थीले ७ बजे नै घर छाड्नुपर्ने अवस्था छ ।
जर्मनमा गरिएको एक अनुसन्धानले टाढा विद्यालय हुँदा त्यसको असर शारीरिक तथा शैक्षिक उपलब्धिमा परेको देखिएको थियो । जसमा भनिएको थियो, “घण्टौ समय खर्चेर विद्यालय पुग्दा सिकाइमा निकै असर पर्छ, पढ्नका लागि स्कुल हिँडेको विद्यार्थीको मानसिकता स्कुल पुगिसक्दा परिवर्तन भइसक्छ ।” जसमा स्कुल नजिक भएका विद्यार्थीहरूले राम्रो अंक ल्याएका थिए भने टाढा स्कुल हुनेहरूले कमजोर नतिजा ल्याएका थिए । टाढा स्कुल हुनुको अर्थ हो, बिहान छिटो उठ्नु, अबेर रातसम्म हामवर्क गर्नु यसले विद्यार्थीको खाली समय कम गर्छ जुन सन्तुलित जीवन यापनका लागि उचित होइन ।
विद्यार्थीको घरको दूरी टाढा हुँदा विद्यार्थीको सबैभन्दा महत्वपूर्ण समय खेर जाने विद्यालय सञ्चालकहरू बताउँछन् । उनीहरू ९ वा १० बजेदेखि सञ्चालन हुने कक्षाका लागि ७ बजेदेखि नै तयारी हुनुपर्छ । अनि लामो समयसम्म बसमा यात्रा गर्दा विद्यालय पुग्दा शारीरिक र मानसिक दुवै रूपबाट थकित हुन्छन् । विद्यार्थीहरूले रचनात्मक कार्यमा मन लगाउन सक्दैनन् । विद्यार्थीहरूले जति सक्रिय भई आफ्ना प्रस्तुति प्रस्तुत गर्न सक्दैनन् ।
विद्यालय र घरको दूरी टाढा हुँदा बिहान चाँडै उठ्नु पर्ने हुन्छ । जसले गर्दा पर्याप्त निदाउन पाउँदैनन् । उनीहरूको धेरै समय विद्यालयमै बित्ने भएपछि अतिरिक्त क्रियाकलापबाट वञ्चित हुन्छन् ।
अभिभावकहरूले पनि आफ्ना बालबच्चाहरूलाई धेरै टाढाको स्कुलमा भर्ना गर्न नहुने शिक्षाविद्हरूको सुझाव छ । स्थानीय तहमा रहेको राम्रो विद्यालयमा पढाउने बानीको विकास गर्न आवश्यक छ । अभिभावकहरूले के कुरामा ध्यान दिनु पर्यो भने राम्रो शिक्षाका लागि टाढा विद्यालय भर्ना गर्दा विद्यार्थीहरूले कम शिक्षा लिन र बढी तनाव हुने गर्छन् भन्ने कुरा बुझ्न जरुरी छ ।



