स्टिम शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ/८ असोज-स्टिम शिक्षा सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र सेल्सियर स्कुलको सहकार्यमा स्टिम शिक्षा सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको हो ।


कार्यशाला स्टिम शिक्षाको आवश्यकता, अपर्याप्तता, उद्देश्य साथै यसले विद्यार्थीमा पार्ने दीर्घकालीन प्रभावका सम्बन्धमा केन्द्रित रहेको थियो । ८० जना शिक्षकहरूको सहभागीता रहेको कार्यशालामा बौद्धिक बहस गर्ने, नयाँ खोजी गर्ने, मौलिक तर्क र सीप अभिव्यक्त गर्ने र जिम्मेवार ढङ्गबाट सोच्ने, हेर्ने र विद्यार्थी आफैलाई जागरुक पार्ने यस पद्धतिलाई कक्षाकोठामा कसरी योजनाबद्ध तरिकाले अगाडि बढाउने, स्टिमका लागि विषय, शीर्षक वा पृष्ठभूमि कसरी निर्माण गर्ने, विषयगत शिक्षकहरूले कसरी सहकार्य गरी एकीकृत रूपमा योजना प्रस्तुत गर्ने भन्ने सन्दर्भमा पनि विद्यालयका शिक्षकहरूले कक्षागत रूपमा छलफल, नमुना परियोजना निर्माण र प्रस्तुति गरी अवधारणालाई स्पष्ट पारेका थिए ।


मूलत: सिकाइको चार स्तम्भहरू (Learning to Know, Learning to Do, Learning to Live Together and Learning to Be)लाई पूरा गराउन पनि स्टिम शिक्षा जरुरी रहेको कार्यशालामा छलफल भएको थियो । स्टिम परियोजना विकास गराउँदा विशेष गरी विज्ञान अन्र्तरगत खोजी, अवलोकन, प्रविधि तर्फ सूचना र प्रविधिको अर्थपूर्ण प्रयोग, इन्जिनियरिङ तर्फ रचनात्मकता, चित्र, डिजाइन, कलातर्फ विषय वस्तुको भाषिक सीप (कथा, कविता, नाटक, गीत, रङ्गरोगन, छलफल) आदि र गणित तर्फ, तर्क, तथ्याङ्क, समस्या समाधान आदिका माध्यमबाट विषय वस्तुमा परियोजना निर्माण गरी सहभागीहरूले प्रस्तुति गरेका थिए ।


साथै स्टिम परियोजना, परियोजनाको लक्षित वर्ग, उमेर वा समुदाय र उद्देश्य अनुरूपता, त्यसको दीर्घकालीन असर र वास्तविक जीवनसँगको अनुभव, उचित वातावरणको आवश्यकता, प्रयोगमा आधारित, सामाजिक मूल्य–मान्यता र नैतिकताका पक्ष, दिगो विकास अवधारणा प्रतिको सचेतना, जस्ता मूलभूत सिद्धान्तलाई समेत ध्यानमा राखी निर्माण गर्नुपर्ने कुरा जोड दिइएको थियो ।


स्टिम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित, कला जस्ता विषयलाई गुणस्तरीय र एकीकृत ढङ्गले पठनपाठन गराउने, सिर्जनात्मक, उत्पादनमूलक र आविष्कार मूलक सिकाइको नवीनतम शिक्षण विधि हो । त्यसैगरी प्रविधिको सञ्जालले विकसित विश्वलाई कक्षा कोठासम्म जोड्ने र सिकाइलाई कक्षा र पाठ्यपुस्तक भन्दा व्यापक, व्यवहारिक र दैनिक जीवनसँग जोड्ने स्टिम शिक्षाको नवीकरण गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि ल्याइएको समय सापेक्ष अवधारणा हो ।