काठमाडौं/१ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयल नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ । संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आग्रह गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै महासंघले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा आसोज २ गते दिनको ३ः०० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन आग्रह गरेको छ ।
नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको जानकारी दिँदै विधेयकलाई अन्तिम रुप दिनु अघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार नै छ ।’