काठमाडौँ /२७ भदौ-नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ । प्रा.डा.नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ । क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उहाँ सो क्याम्पसको ३३ औँ प्रमुख हुनुभएको छ । २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आइएससी र त्यसपछि बिएससी अध्ययन गर्नुभएकी डा.श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गर्नुभएको हो । उहाँले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गर्नुभएको थियो ।
आठ वर्षअघि प्राध्यापक हुनुभएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाउनुभएको थियो । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहनुभएकी उहाँ समाजको पहिलो महिला अध्यक्ष पनि हुनुहुन्छ ।
उहाँ आफूले अध्ययन गरेको र सेवा गरिरहेको क्याम्पस भएकाले क्याम्पस सुधारका लागि काम गर्ने बताउनुभयो । भौतिकशास्त्र विभागका प्रमुखसमेत भइसक्नुभएकी डा. श्रेष्ठले ऐतिहासिक क्याम्पसमा ऐतिहासिक काम गर्ने र त्यसका लागि सबैको सहयोग अपेक्षा गरेको बताउनुभयो । गोरखापत्र दैनिकमा समाचार छ ।



