बर्दिया/२६ भदौं -अख्तियार अनुसन्धान आयोगले विद्यालय प्रधानाध्यापकलाई घुस सहित नियन्त्रणमा लिएको छ । बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुर स्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले नियब्त्रणमा लिएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले प्रधानाध्यापकलाई सेवाग्राहीबाट चौध हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित राजापुर नगरपालिका वडा नं. ४ स्थित सरस्वती भवन नजिकबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।



