काठमाडौं/२५ भदौं-गत शुक्रबार कक्षा ८ मा अध्ययनरत १३ वर्षीया विद्यार्थीले विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी छन् । रुकुमको चौजहारी नगरपालिका– १ स्थित भ्याली पब्लिककी विद्यार्थी सृष्टि गौतमले शुक्रबार विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी हुन् ।
गौतम शुक्रबार विद्यालयबाट घर पुगेर विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेको उनका अभिभावकले बताएका छन् । अभिभावकका अनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल पुष्पा भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेपछि आत्महत्य गरेको आरोप छ । प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको बताएका छन् ।
घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए । आत्महत्या दुरूत्साहन मुद्दा परेपछि स्कूलका प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कक्षा कोठा र त्यसपूर्व विद्यालय प्राङ्गणमा पनि कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ ।
मुद्दा परेपछि घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको र विद्यालयमा छात्रामाथि कुटपिट भएको हो कि होइन ? यदि हो भने के कारणले कुटपिट भएको हो ? त्यसबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरी अधिकारीले बताएका छन् ।



