काठमाडौँ /१८ भदौं— पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा सम्बन्धी सम्पूर्ण फाराम अनलाइन मार्फत भर्न मिल्ने भएको छ । परीक्षा फारामलाई व्यवस्थित बनाउने उदेश्यले अनलाइन मार्फत भर्न मिल्ने बनाउन लागेको हो ।
विश्वविद्यालयले परीक्षालाई व्यवस्थित पार्न सोमबार पूर्वाञ्चल विश्वविद्यालय, विश्विद्यालयबाट सम्बन्धन लिएका निजी कलेजको संगठन (पीयूक्यान) र मिडास एजुकेसन प्रा. लि. बीच त्रीपक्षीय सम्झौता सम्पन्न भएको छ ।
विश्वविद्यालयलाई पूर्ण रुपमा स्वचालित बनाउन गत वर्षदेखि प्रवेश परीक्षाको फारम अनलाइनबाट सुरु भएको थियो । यसलाई निरन्तरता दिन यस वर्षको शैक्षिक सत्रदेखि सबै परीक्षा फारामहरु अनलाइन गराउन लागेको सह नियन्त्रक मेनुका श्रेष्ठले बताइन् । अनलाइन प्रणालीले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा सहज हुने उनको भनाई थियो ।
विश्वविद्यालयका अनुगमन तथा मुल्यांकन केन्द्रका कार्यकारी निर्देशक सञ्जय कोईरालाले विश्वविद्यालयलाई विस्तारै पेपरलेस र फेसलेस बनाउने तयारी रहेको बताए र उनले सम्बन्धन प्राप्त कलेजहरुको सहयोग भए पूर्ण रुपमा अनलाईन प्रणालिमा जान सकिने र त्य तर्फ विश्वविद्यालयले योजना बनाएको बताए ।
परीक्षा र नतीजा समयमा नहुँदा विद्यार्थीलाई परेको समस्यालाई विचार गरी परीक्षालाई व्यवस्थित गर्न परीक्षाको फाराम अनलाइनबाटै भर्ने सफ्टवेयरको व्यवस्था गर्न लागेको पीयूक्यानका अध्यक्ष शम्भु कुमार दाहालले बताए ।
मिडास एजुकेसनका टेक्निकल म्यानेजर रवीन्द्रजंग थापाले विश्वविद्यालयलाई आवश्यक सफ्टवेयर ४ महिनाभित्रै हस्तान्तरण गरिने बताए । अब बन्ने सफ्टवेयरले विद्यार्थी, कलेज र विश्वविद्यालयलाई परीक्षाको फाराम सम्बन्धी काम गर्न सहज हुने उनले बताए ।
पूर्वात्तचल विश्वविद्यालयले परीक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई शैक्षिक पात्रो लागू गर्न बर्षेपिच्छे आवश्यकता अनुसार सफ्टवेयर मार्फत सुधार गर्दै आएको छ ।



