शुल्क वृद्धि पूर्णरुपमा खारेज नभएसम्म अनेरास्ववियुको आन्दोलन जारी राहने

काठमाडौं/१४ भदौं-इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता नभए सम्म अनेरास्ववियुले आन्दोलन जारी राख्ने जनाएको छ । शुल्क वृद्धि फिर्ता र ७ वटै प्रदेशमा अनिवार्य आङ्गिक कलेज स्थापना गरिनुपर्ने हाम्रो माग राख्दै आन्दोलन जारी राख्ने जनाएको हो ।


अनेरास्ववियु बाहेक त्रिभुवन विश्वविद्यालय र केही विद्यार्थीसंगठनहरुबीच शुल्क वृद्धि सम्बन्धी पाँच बुँदै सहमती भएको विषयमा समेत अनेरास्ववियुले असन्तुष्टि जनाएको छ । शुल्क वृद्धिको पक्षमा मौन समर्थन गरिरहेका सत्ताधारी विद्यार्थी संगठनहरुले अनसन तोडने बहानामा शुल्क वृद्धि फिर्ता लिने निर्देशन दिने जस्तो काल्पनीक भएको र शुल्क वृद्धिलाई अनुमोदन गर्ने भनी विद्यार्थीहरुलाई भ्रम पैदा गर्न नक्कली सहमती गरिएको भनाई छ ।


साथै सत्ता समर्थीत विद्यार्थी संगठनहरु नै इन्जिनियरिङ अध्ययनको शुल्क बढाउन र निजिकरणलाई प्रश्रय दिन लागि परेको भन्दै शुल्क वृद्धि फिर्ता भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरेको छ ।


‘नेपाल सरकारले इन्जिनियरिङ अध्ययन संस्थानलाई छात्रवृत्तिका लागि प्रदान गर्ने अनुदान रकममा गरेको कटौती खारेज गरी हाल प्रदान गरिएको अनुदानमा वृद्धि गरी संस्थानको सञ्चालन, पूर्ण छात्रवृत्ति वितरण र शुल्क वृद्धि नियन्त्रणका लागि वार्षिक रुपमा आवश्यक अनुदानको व्यवस्था गर्न सरकार समक्ष अनेरास्ववियु जोडदार माग गर्दछ । साथै शुल्क वृद्धि फिर्ता र ७ वटै प्रदेशमा अनिवार्य आङ्गिक कलेज स्थापना गरिनुपर्ने हाम्रो मागबाट अनेरास्ववियु अलिकति पनि पछि हटेको छैन तसर्थ शुल्क वृद्धि फिर्ता नभए सम्म अनेरास्ववियुले आफ्ना सबै आन्दोलनहरुलाई थप मजवुत तरिकाले जारी राख्नेछ’ विज्ञप्तिमा भनिएको छ ।


त्यसैगरी शुल्कवृद्धि पुर्ण रुपमा खारेज नहुन्जेल आन्दोलन निरन्तर अघि बढ्ने र भोलिदेखि विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यकक्ष प्रवेश निषेध लगायतका आन्दोलनका कार्यक्रमहरु मार्फत अघि बढ्ने अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।