कास्की/१३ भदौं-पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्र प्रसाद बराल उपर प्रतिवद्धता विपरीत अध्यापन गरी दोहोरो सुविधा लिइ भ्रष्टचार गरेपछि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
अख्तियार अनुसन्धान आयोगले बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत पाइएको जनाएको छ ।
अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट नन्टिचिङ अलाउन्स समेत लिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
साथै उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज उपर सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।



