शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक (पुस्तिकासहित)

काठमाडौं/१९ साउन–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका आर्थिक वर्ष २०८०–८१ सार्वजनिक गरेको छ । केन्द्रले प्रदेश र स्थानीय तहमा सर्सत अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाइमा कार्यन्वयन हुने बार्षिक कार्यक्रमसँग सम्बन्धित पुस्तिका सार्वजनिक गरिएको हो ।


नेपालको विद्यमान शिक्षा नीति तथा कार्यक्रमहरू विद्यालय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्ने, शिक्षालाई रोजगारी उन्मुख बनाउने, गुणस्तरमा सुधार एवम् व्यवस्थापकीय क्षमतामा अभिवृद्धि गरी आर्थिक सामाजिक विकासका लक्ष्यहरू हासिल गर्नेतर्फ लक्षित रहेको मन्त्रालयले जनाएको छ । नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै आधारभूत शिक्षा अनिवार्य र निःशुल्क हुने तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ । सबैका लागि गुणस्तरीय आधारभूत शिक्षाको सुनिश्चितताका लागि नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धतासमेत जनाएको छ ।


नेपालले वि. सं. २०८३ सम्ममा अति कम विकसितबाट विकासशील देशमा पुग्ने तथा सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी शैक्षिक कार्यक्रम तथा नीतिहरू तय भएको पुस्तिकामा उल्लेख छ । विद्यालय तहको शिक्षाको विकासका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० वर्षे (२०७९–२०८९) विद्यालय शिक्षा क्षेत्रको योजना कार्यान्वयनमा ल्याएको हो ।


साथै विद्यालय शिक्षाका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विगतका वर्षहरूका उपलब्धिहरू र कार्यान्वयनमा देखिएका चुनौतीहरूबाट सिकिएका पाठका आधारमा स्वीकृत कार्यक्रमका निर्दिष्ट लक्ष्यहरूलाई समयमै प्राप्त गर्न तथा कार्यक्रम कार्यान्वयनमा एकरूपता कायम गर्न आ.व. २०६१ देखि नै कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरी कार्यान्वयन हुँदै आएको छ ।


प्रदेश सरकार, स्थानीय तह एवम् सम्बन्धित सरोकारवाला निकायहरूबाट प्राप्त सुझाव तथा पृष्ठपोषणसमेतका आधारमा परिष्कृत र सरलीकृत गरी यस पुस्तिकालाई सङ्घीय संरचना अनुरूप जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश सरकार तथा स्थानीय तहबाट कार्यान्वयन हुने वार्षिक कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न तथा कार्यान्वयनमा एकरूपता ल्याउन सहजताका लागि तयार गरिएको भनाई छ ।


आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम एवम् बजेट वक्तव्यमा विद्यालय शिक्षासँग सम्बन्धित कार्यक्रम तथा प्रथामिकताहरूमा उल्लिखित पक्षहरूको कार्यान्वयन तथा प्रदेश स्थानीय तह एवम् शिक्षा विकास तथा समन्वय इकाइमार्फत कार्यान्वयन हुने कार्यक्रमहरू स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक कर्मचारीको तलबभत्ता, पाठ्यपुस्तक, विद्यालय सञ्चालन मसलन्द, प्रति विद्यार्थी लागत अनुदान, छात्रवृत्ति, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसहितका भौतिक सुविधा विस्तार कार्यक्रम, सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क सेनिटरी प्याड वितरण, माध्यमिक र निम्नमाध्यमिक तहमा शिक्षक अभाव परिपूर्ति गर्न शिक्षण सहयोग अनुदान, कोभिड–१९ लगायतका विपद्वबाट पुगेको शैक्षिक क्षतिको आपूरण तथा अन्य विपद्को समयमा सिकाइ निरन्तरता, शिक्षक तालिम, ठुला विद्यालय विकास, परिवर्तित पाठ्यक्रमको प्रबोधीकरण कार्यक्रम लगायतका शैक्षिक कार्यक्रमहरू रहेका छन् ।

हेर्नुहोस पुस्तिका :

https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-554663752.pdf