विराटनगर/५ भदौं-शिक्षण पद्धति र मूल्याङ्कन अभ्यास बारे सरोकारवातलाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ विश्वबिद्यालयबाट स्कुल अफ एजुकेशन अन्तर्गत संचालित सीपीईसी बिराटनगर इकाई र एस्पायर कलेजको सहकार्यमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रिन्सिपल र प्रतिनिधिहरुसँग उत्पादक केन्द्रित सामुहिक छलफल गरिएको विश्वविद्यालयले जनाएको छ । प्यब्सन मोरङ्गका अध्यक्ष प्रेम लाल सिंह रवाल लगायत विभिन्न विद्यालयका प्रिन्सिपल र प्रतिनिधिहरुको सहभागितामा शिक्षण पद्धति र मूल्याङ्कन अभ्यासका महत्त्वपूर्ण पक्षहरूमा छलफल भएको थियो । त्यसैगरी उक्त कार्यक्रमको नेतृत्व र सहजीकरण काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका शिक्षाविद् डा. हेम राज काफ्ले र सन्दिप ढुंगानाले गरेका थिए ।
कार्यक्रम डा. हेम राज काफ्लेले अनुभव उत्तेजक प्रश्न “तपाईको विद्यालयका सकारात्मक पक्षहरु के के छन ?” बाट सुरुवात गरेका थिए । उक्त प्रश्नको जवाफमा सहभागी प्रतिनिधिहरुहरूले आ–आफ्ना विद्यालयका सफल शैक्षिक रणनीति बारे बताएका थिए भने केहि शिक्षण पद्धतिमा आधारित कमजोरीहरूका बारेमा बताएका थिए ।
शिक्षाविद् डा. हेम राज काफ्लेले छलफल विद्यालयको आवश्यकता पहिचानको पहिलो खुड्किलो रहेको र विद्यालयको सम्पूर्ण परिवेश बुझ्न यस्तै छलफल विद्यालयका शिक्षकहरू र विद्यार्थीहरुसँग पनि गर्नुपर्ने बताए । सीपीईसीका प्रशिक्षक सन्दिप ढुंगानाले, यसरी विभिन्न चरणमा विद्यालयहरुको वास्तविक आवश्यकताको पहिचान गरेर मात्र विभिन्न टिपिडी सत्रहरू संचालन गर्दा प्रभावकारी हुने कुरामा जोड दिए ।
छलफलका आन्य विषयहरु मूल्याङ्कन प्रणाली र काठमाडौं विश्वविद्यालयबाट भविष्यको अपेक्षाबारे रहेको थियो । प्यब्सन मोरङ्गका अध्यक्ष प्रेम लाल सिंह रवालले एस्पायर कलेज मार्फत काठमाडौँ विश्वविद्यालयको छलफल कार्यक्रम विद्यालय शिक्षाको गुणस्तर बढाउने एउटा महत्वपूर्ण कदम रहेको र भविष्यमा पनि यस्तै कार्यक्रमहरुको अपेक्षा रहेको बताए ।
एस्पायर कलेजका निर्देशक प्रतिक राउतले कार्यक्रममा सहभागी विद्यालयका प्रिन्सिपल र प्रतिनिधिहरु लाई धन्यबाद दिँदै कोशी प्रदेशलाई केन्द्रित गरी आउँदा दिनहरुमा एस्पायर कलेजमा रहेको सीपीईसी इकाईले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए । साथै आगामि दिनमा शिक्षकको व्यावसायिक विकास तालिम र कार्यशालाहरूको आवश्यकताको विश्लेषण, टिपिडी सत्रहरूको आयोजना र सञ्चालन, सिकाइ स्रोतहरूको योजना र विकास, निरन्तर अनुगमन र प्रतिक्रिया, प्रभावकारीताका लागि अनुगमन र मूल्याङ्कन जस्ता कार्यकमहरु गरिने जानकारी दिँए ।



