काठमाडौं/२८ साउन-सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपूर्ण रहेको र विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता, संलग्नता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासंघले आज प्रस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको नाएको छ । स्थानीय स्तरमा विद्यालय सञ्चालन गरिरहेका विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सँग कुनैपनि छलफल र परामर्श विना नै तयार गरेको र विधेयक मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपूर्ण रहेकोले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको अध्यक्ष गणराज मुक्तानले बताए ।
‘वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार माथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने देखिएकोले निम्नानुसारको व्यवस्था सहितको शिक्षा विधेयक यथाशीघ्र ल्याउन माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले चरणबद्ध आन्दोलनको घोषणा गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
साथै सरकारको तर्फबाट कुनै सुनुवाई नभएमा देशभरीका अभिभावक र विद्यालय व्यवस्थापन समितिहरु कडा आन्दोलनमा उत्रन बाध्य हुने समेत महासंघले चतावनी दिएको छ ।
मागहरु
१. समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखियोस ।
२. विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखियोस ।
३. जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधि पाँच वर्ष कायम गरियोस ।
४. खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गरियोस ।
५. सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रुपमा क्रियाशिल विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघिय शिक्षा ऐनमा व्यवस्था गरियोस ।
पहिलो चरण
१. २०८० श्रावण २९ गते ७७ वटै जिल्लाका विद्यालय व्यवस्थापन समितिहरु जम्मा भएर जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाउने ।
२. २०८० श्रावण ३१ गते ७ वटै प्रदेशको मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाउने ।




