गैँडाकोट/४ साउन-शिक्षण सिकाइलाई प्रभावकारी र रुचिपूर्ण बनाउन साथै विषयवस्तुको बुझाइलाई सरल बनाउन आजभोलि शैक्षिक सामग्रीको प्रयोग बढ्दो क्रममा छ तर विषयवस्तु अनुकूलको शैक्षिक सामग्री निर्माण, सङ्कलन र प्रयोग यी तीन कुराहरुका बारेमा शिक्षक जानकार हुन नसक्दा शैक्षिक सामग्रीको प्रयोग शिक्षकका लागि बोझ हुने गरेको तितो यथार्थ पनि हामी माझ छ । शैक्षिक सामग्री भन्ना साथ बजारबाटै किनेर ल्याउनुपर्छ, खर्चिलो हुन्छ, निर्माण गर्न समय धेरै लाग्छ, महङो हुन्छ , सरल रुपमा उपलब्ध हुन सक्दैन भन्ने जस्ता विविध तर्कहरु सुन्ने गरिन्छ ।
यस्तै तर्कहरुकाबीच काठमाडौँ विश्वविद्यालय अन्तर्गत सञ्चालन भएको सिपिइसि कार्यक्रमका सहजकर्ताहरुले शैक्षिक सामग्री के हो ? यसको तयारी कसरी गर्ने ? र विषयवस्तु अनूकूल हुनेगरी कसरी प्रयोग गर्ने भन्न्ने सम्बन्धमा विजय सामुदायिक शिक्षा सदनका शिक्षकहरुका लागि एक दिने कार्यशाला सम्पन्न गरेका छन् । यस अघि पनि काठमाडौँ विश्वविद्यालयको सहकार्यमा शिक्षकको पेसागत अभिवृद्धि एवम् शैक्षिक गुणस्तरसँग सम्बन्धित रहेर विविध कार्यशालाहरु सञ्चालन भइसकेका थिए ।
कार्यशालाको पहिलो सत्रमा पाठयक्रमले निर्दिष्ट गरेका विषयगत सिकाइ उपलब्धिहरु के कस्ता छन् ? साथै एकअर्काे विषयसँग मिल्ने साझा सिकाइ उपलब्धिहरु के छन् वा छैनन् भनी फरक फरक विषयका शिक्षकहरु राखेर समूहगत कार्य गर्न लगाइएको थियो भने पाठयक्रमको अध्ययनबाट प्राप्त भएका जानकारीहरु समेट्दै प्रत्येक समूहले प्रस्तुतीकरण पनि दिएका थिए । सो क्रममा फरक फरक विषयका विषय वस्तुकाबीचमा पनि केही हदसम्म समानता हुन सक्ने रहेछ भन्ने बुझाइ शिक्षकहरुले गरेका थिए ।
यही कुरालाई जोड्दै सिपिइसि कार्यक्रमका कोअर्डिनेटर एवम् कार्याशालाका सहजकर्ता डा. पार्वती ढुङ्गानाले फरक फरक लागेका विषय पनि अन्तर सम्बन्धित भएकाले अब तिनै फरक फरक विषयका शिक्षकहरुलाई नै शैक्षिक सामग्रीका रुपमा प्रयोग गर्न सकिने बताइन् । उनले शैक्षिक सामग्रीका स्रोतहरु मानवीय र अमानवीय हुने कुरा बताउँदै यस्ता सामग्रीहरु खोज्न टाढा जानु नपर्ने यी सामग्रीहरु सहज रुपमा हाम्रै वरपर नै रहेका हुन्छन् तर हामीले चिन्न सक्नुपर्ने कुरामा उनले जोड दिइन ।
कार्यशालाको दोस्रो सत्रको सहजीकरण गर्दै काठमाडौँ विश्वविद्यालय अन्तर्गतको सिपिइसि कार्यक्रमका शिक्षक प्रशिक्षक रेजिना केसीले शैक्षिक सामग्रीका मानवीय एवम् अमानवीय स्रोतहरुका बारेमा जानकारी गराउँदै कार्यशाला स्थलभित्रै उपलब्ध मानवीय र अमानवीय स्रोत र साधनहरुलाई कुन कुन विषयको के के शिक्षणमा प्रयोग गर्न सकिन्छ भनी सहभागी शिक्षकहरुलाई समूह विभाजन गरी प्रयोगात्मक सिकाइमा सहभागी गराएकी थिइन् । प्रत्येक समूहले त्यहीँ उपलब्ध परिवेशबाट विविध सामग्रीहरु भेटे जसलाई शैक्षिक सामग्रीका रुपमा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा आफ्नो आफ्नो समूहबाट प्रस्तुतीकरण गरेका थिए ।
यसरी प्रयोगात्मक रुपमै सिकाइ गर्न पाएकोमा सहभागीहरु निकै खुसीथिए । अब शैक्षिक सामग्री के बनाउने होला भनेर भौतारिनु नपर्ने भन्दै कक्षाका विद्यार्थी , डेक्स बेन्च , टेबल सबैलाई शैक्षिक सामग्रीको रुपमाप्रयोग गर्न सकिने कुरा कार्यशालाले सिकाएको हाम्रै वरपरका सामग्री चिन्न नसक्दा दुःख पाएको धारणा सहभागीको थियो । साथै सहजकर्ताहरुले अबको सिकाइ २१ औँ शताब्दी अनुकूल हुनुपर्ने भन्दै शैक्षिक सामग्री सँगसँगै प्रोजेक्टमा आधारित शिक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यशाला काठमाडौंँ विश्वविद्यालयको सहकार्यमा विजय सामुदायिक शिक्षा सदनको सभाहलमा सम्पन्न भएको थियो जसको सहजीकरण काठमाडौँ विश्वविद्यालय अन्तर्गतको सिपिइसि कार्यक्रमका कोअर्डिनेटर डा. पार्वती ढुङ्गाना र सोही विभागका शिक्षक प्रशिक्षक रेजिना केसीले गरेकी थिइन ।



