शिक्षा : अनिवार्यता एक दृष्टिकोण अनेक

चितवन/२२ असार-शिक्षा समाजमा संचालन हुने सामाजिक चेतनाको माध्यम हो । शिक्षाको माध्यम द्वारा नै मानिसले आफ्ना बुद्धि, तर्क, ज्ञान, सीप आदि प्रदर्शन गरि समाज, राष्ट्र र विश्वलाई प्रगतिपथमा लैजाने गर्दछ । हिन्दु दर्शन वैदिक दर्शनले शिक्षालाई ईश्वरप्रति आस्थावान जन्म, मृत्यु, आत्मा, पाप, धर्म सँग जोडेर हेरेको छ । विद्यार्थीको चरित्र निर्माण, चित्तवृद्धिको निरोध, ज्ञान र अनुभवमा जोड, निष्ठावान, नित्य कर्ममा तल्लीन, प्राथर्नामा लिन हुने, भिक्षाटनबाट जीवन यापन गर्नुपर्ने, गुरूको सेवामा कमि आउन नदिने, ईश्वरको अस्तित्वलाई विश्वास गर्नु थियो । बुद्ध धर्मरदर्शनमा शिक्षा पूर्ण रूपमा त्रिपिटकमा आधारित र आर्यसत्यद्वारा निर्देशित छ । कुनै पनि वस्तुको अस्तित्व सनातन छैन, क्षणिक मात्र छ । बुद्ध शिक्षामा क्षणिकवाद, अनित्यवाद, अर्थक्रियावाद, अनात्मवादमा आधारीत शिक्षा हो भनी उल्लेख गरेको पाईन्छ । बुद्ध धर्ममा ईश्वर, आत्मा,अन्धविश्वास, कर्मकाण्ड र पुर्नजन्म जस्ता कुरामा विश्वास गर्दैन ।


इस्लाम धर्मको शिक्षामा कुनै पनि ईश्वर छैन तर अल्लाह छन् र मुहम्मद अल्लाहका दुत हुन् । दैनिक प्रार्थना गर, गरिबलाई अनिवार्य दया गर, सबै मुसलमान बराबर छन् आदि । ईसाइ धर्ममा शिक्षामा क्राइस्टको (ईश्वर) भक्तिमा रहिरहने र मानिसको विश्वासलाई क्राइस्टमा लगाइ रहन सहयोग पुर्या उनु हो । निर्माणवादको शिक्षाका लक्ष्यमा नयाँ ज्ञानको निर्माण गर्नु प्रमुख मानिन्छ । ग्रिसेलिहरूले शिक्षामा विवेकलाई ज्यादै महत्व दिन्थे । एथेन्सको शिक्षा नागरिकलाई सचेत बनाउने र नागरिक विकास, कार्यमा विश्वास गर्थे । स्पाटाको शिक्षा भने नागरिकको विकास नै शिक्षाको लक्ष्य थियो । रोमन शिक्षा पद्धतिमा पिताद्वारा शिक्षा आफ्ना पुत्रलाई कानुनका बाह्रधाराहरू (त्धभखिभ तबदभिक या बिध) कण्ठस्थ गराइने । व्यवहारिकतामा केन्द्रीत राष्टिय सुरक्षाका लागि वीर योद्दाहरूको निर्माण गर्ने शिक्षाको उद्देश्य मानियो । एथेन्सको शिक्षाको उद्देश्य शारीरिक,चारित्रिक र कलात्मक सौन्दयको जीवन प्राप्त गर्नु मानियो ।


प्लेटोले शिक्षालाईे मानसिक रोग हटाउने मानसिक उपचारका रूपमा लिएका छन् । उनको विचारमा शिक्षाको मुल उद्देश उत्तम मानिसको निर्माण गर्न हो।अरस्तुले शिक्षालाई आदर्श राज्यको साधन मानेका छन् । जेरेमी बेन्थमको विचारमा शिक्षाको उद्देश्य मानिसको मस्तिष्कलाई विकसित गरेर आफ्नो तथा अर्काप्रति चेतनशील बनाउनु हो ।


नेपालमा शिक्षाको विकासक्रम :


मानव सभ्यताको विकास सँगै शिक्षा दिने र लिने परम्पराको थालनी भएको मान्न सकिन्छ । नेपालमा परापूर्वकालमा शिक्षाको विकास धर्म, सामाजिक परम्परामा आधारित पारिवारीक शिक्षादिक्षा एक पिढीबाट अर्को पिढीमा हस्तानान्नतरण हुदै प्राचिनकालमा वैदिक वा संस्कृत शिक्षा गुरुकुल, क्रृषिकुल, देवकुल तथा पितृकुल प्रणालीबाट शिक्षाको थालनी भएको पाइन्छ । बाईसी र चौबिसे राज्यको समयमा आन्तरिक लडाइँ, झै झगडाका कारणले शिक्षामा खासै प्रगति हुन नसकेता पनि गोरखाका राजा पृथ्वी नारायण शाहाको पालामा विद्यार्थीहरूलाई पढ्नका लागि छात्रवृत्ती दिएको थियो भन्ने कुरा नेपालको इतिहासमा लेखेको पाईन्छ ।


त्यसै गरी राणाकालिन समयमा शिक्षामा उलेख्य प्रगति नभएको एक अँध्यारो युगका रूपमा लिईन्छ । यसै समयमा जंग बहादुरले नेपालमा पहिलो पटक अंग्रेजी माध्यमको दरबार स्कुलको स्थापना तथा संचालन गरेका,देव शमशेरले एक सय पचास भन्दा बढी विद्यालय खोलेका र दरबार स्कुलमा सर्वसाधारण मानिसले पढ्न पाउने भए भने महिला शिक्षाको पनि नेपालमा सुरूवात गर्ने श्रेय विर शमशेरका नाममा लेखिन गयो । चन्द्र शमसेरले त्रिचन्द्र (त्रिभुवन चन्द्र) कलेजको स्थापना, जुद्द शमसेरका पालमा नेपालमा पहिलो पटक एसएलसी परीक्षा बोर्डको स्थापना र पद्म शमसेरले पद्मकन्या हाइ स्कुल खोलेका थिए ।


वि.स.२००९ सालमा गठित शिक्षा बोर्डको सिफारिस अनुसार नेपाल राष्ट्रिय शिक्षा आयोगको गठन भई शिक्षा राष्ट्रिय, देशव्यापी, प्राथमिक शिक्षा निःशुल्क, नागरिकको विकास गर्ने र रोजगारी दिने किसिमको हुनेछ भन्ने विशेषता थिए । सर्वाङगीण राष्ट्रिय शिक्षा समिति,२०१८ राष्ट्रिय शिक्षा सल्लाहकार परिषद,२०२४ गठन भए । राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ ले विद्यालय शिक्षामा शिक्षा तहगत एकरूपता, राष्ट्रिय शिक्षा प्रणालिको व्यवस्था, पाठ्यक्रम तथा पाठ्यपुस्तकमा जोड, विद्यालय निरीक्षणको व्यवस्था जस्ता प्रमुख विशेषताले गर्दा त्यस समयमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरेको पाईन्छ । पाठ्यक्रम कार्यान्वयन योजना, २०३८ राष्ट्रिय आयोगको प्रतिवेदन, २०४९ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ शिक्षा सम्बधी उच्चस्तरीय कार्य समिति, २०५८ जस्ता समिति तथा प्रतिवेदनले शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक हुनुपर्ने सुझाव दिएका छन् । विविध कालखण्डमा नेपालमा शिक्षा धर्म, समय, ठाँउ, परिवेश, संस्कृति, रहन सहन अनुसार फरक भएको पाईन्छ ।


समाजको अपेक्षा :


समाज स्थिर नभई गतिशिल तथा परिवर्तनशिल छ र हुनुपर्छ । समय अनुसार समाजले शिक्षाबाट हरेक अभिभावकले आफ्ना सन्तानहरूको आफ्नो जिवनयापन सहज बिताउन सक्ने,समाज र राष्टका लागि योगदान गर्न सक्ने, मातृभाषा तथा अन्य भाषाका साथै अंग्रेजी भाषा फरर बोल्न,लेख्न तथा पढ्न सक्ने,अरू भन्दा फरक गुण भएको र पहिचान बनाउन सक्ने सन्तान बनुन भन्ने चाहाना बोकेको हुन्छ । विद्यालय शिक्षाले यस्तो किसिमको शिक्षा दिन सकेको छ वा छैन यो सोचनिय विषय छ र हुनुपर्छ । तर, यस्तो ठिक विपरीत बालवालिकाले नैतिकतामा कमि भएको, विभिन्न कुलत तथा लागु पर्दाथमा लत बसेको पनि पाईन्छ ।


समाज,राष्ट्र र विश्वको भलाईका लागि प्रतिभाशाली, वैज्ञानिक, दक्ष र निर्भिक जनशक्तिको अपेक्षा हुनु कुनै नौला विषय होईन । समाजले सामाजिक, सांस्कृतिक वातावरणमा अन्तरघुलन हुन सक्ने, परिवार, समाज, सिङ्गो राष्ट्रको अपेक्षा पुरा गर्ने, विसंगति विरूद्धमा आवाज उठाउन सक्ने, सामाजिक र सांस्कृतिक धरोहरहरू बचाउन सक्ने, नैतिकवान, चरित्रवान, जिज्ञासु र प्रतिभावान् नागरिक तयार गर्ने चाहाना समाजको हुन्छ ।


निचोड :


कुनै व्यक्तिले आफुले हाँसिल गरेको र सिकेका शिक्षालाई व्यवहारमा उतारी प्रयोग, अभ्यास र अवलम्वनद्धारा समुदाय र सिँङ्गो विश्वको जिवनयापन सहजहुनुलाई वास्तविक शिक्षा मानिन्छ । तर हालको विद्यालय शिक्षाले सैदान्तिक कुरालाई बढी जोड दिएको, व्यावहारिक पक्षलाई कार्यान्वयन नगरेको, जन अपेक्षा भन्दा पनि उदेकलाग्दो वा पट्टारिला भएको, शिक्षित वेरोजगार मात्र उत्पादन गरेको र दैनिक रूपमा प्रयोगमा पनि आउन नसकेको आरोप पनि लागेको छ ।


विद्यालय शिक्षाले देशका दक्ष जनशक्तिलाई अनुसन्धानमा विकास खासै हुन नसकेको, प्रतिभा पलायरोक्न खासै केही योजना कार्यान्वयन नभएको, खोज तथा वैज्ञानिकताको अभाव जस्ता कारणले गर्दा विद्यार्थीमा दिन प्रतिदिन विद्यालय शिक्षामा वितृष्णा अंकुरण हुने, प्रतिभा तथा पुँजी पलायन र देशमा जनशक्तिको अभाव भई देशमा चाहिएको आर्थिक वृद्धी, विकास, सुशासन , विकास निर्माण र अन्य कार्यहरू समयमा हुन नसकेको छैन । अर्को तिर समयमै दक्ष जनशक्तिको अभाव हटाउन र सो जनशक्तीलाई परिचालन तथा विकास गर्न, समाजले अपेक्षा गरे अनुकुलको आर्थिक, सामाजिक, मानविय र सांस्कृतिक विकास गर्नका लागि विद्यालय शिक्षामा हाल भएको पाठ्यक्रम सुधार, परिमार्जन, परिवर्तन, आफ्नो कला संस्कृतिको संरक्षण, प्रथा परम्परा रीति संस्कृति समावेश भएको र व्यावहारिक तथा गरिखाने शिक्षाको विकासले नै समाज, देश र राष्टलाई सधैभरी उन्नति पथमा राखि राख्न मद्दत गर्दछ ।


हाम्रा विद्यालयका पाठ्यक्रममा भविष्यमा कस्तो किसिमका जनशक्तीको खाँचो छ, कसरी, कुन उपायाले परीपूर्ती गर्न सकिन्छ, समाजको माग के हो ? जस्ता विविध पक्ष समेटेर बृहत छलफल, परामर्श, सेमिनार, विचार सम्मेलनका माध्यामबाट व्यक्ती, समाज, राष्ट्र र विश्वकोहितका लागि गरीखाने विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तक समेटी लागु हुन जरूरी छ ।


(राजन कार्की नारायणी नमुना माविका शिक्षक हुन । यो आलेख नारायणी नमुना माविको हीरक महोत्सवमा प्रकाशन भएको हो ।)