काठमाडौं/१८ असार-राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले यो वर्षको एसइईको नतिजा ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने निर्णय गरेको हो ।
नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा अन्योल रहेको थियो । बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरेपनि नतिजा भने २०७२ को पद्धति अनुसार गरेको थियो ।
पुरानो पाठ्यक्रम बाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
शुक्रबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा २० गतेदेखि २२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार २० गतेपछि २२ गतेभित्र जुनसुकै दिनमा पनि नतिजा सार्वजनिक गर्न सकिने बताएका हुन ।
उनले खबर एजुकेशनलाई भने, ‘असार २० गतेपछि २२ गतेसम्मा नतिजा सार्वजनिक गर्ने तयारीमा छौं । प्राविधिक कठिनाई नआएमा २२ गतेभित्र नतिजा सार्वनजिक गर्छौ । राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक हुन्छ ।
यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।



