नवलपरासी/१७ असार-म झोले शिक्षक हुँ,दलको झोला र झण्डा बोकेर चाकरी गर्छु । यो–त्यो दलको हुँ भन्दै शिक्षक संग लेवि उठाउँछु । तर शिक्षकका हकहित विरुद्ध नै लाग्छु । त्यसैले त म झोले शिक्षक ।
समयमा स्कूल जान्न । गए पनि नेताकै गुणगानमा समय बिताउँछु । पूरा समय स्कूलमा कहिले बस्दिन । त्यसैले त म झोले शिक्षक । न मलाई पेशा प्रति चासो छ । न विद्यार्थीको भविष्य प्रति चिन्ता छ । त्यसैले त म झोले शिक्षक ।
कक्षा कोठामा गए पनि पठनपाठन र सिकाइतिर पटक्कै ध्यान दिन्न । कक्षाबाटै दलका झुंडलाई फोन गरेर चाकरी गर्छु, चाप्लुसी गर्छु , कुरा लगाउँछु । त्यसैले त म झोले शिक्षक ।
गाउँमा कोहि ल्याप्चे नेता आयो कि स्कूलको कुना च्यापेर– पर्खाल नाघेर भेट्न जान्छु । इमान्दार शिक्षकको कुरा काटेर नेतालाई उसकै विरुद्ध क्रोधी बनाउँछु । त्यसैले त म झोले शिक्षक ।
सेवा, सुविधा सबै मैलाई चाहिन्छ । विद्यालयको नेतृत्वलाई टेर पुच्छर लगाउँदिन । किन कि मैले पार्टीको शक्तिको धम्कीले स्वार्थ पूरा गर्छु । त्यसैले त, म दले र झोले शिक्षक ।
तर, तर ख्याल गर्दिन म दले, मेरो सात पुस्तालाई समेत पिरोल्ने मेरो तलुवावाद र झोलावादले मैलाई धिक्कार्ने छ । झोला, झण्डा र चाकरीको इजहार फालेर पेशागत बन्ने छैन । चाहे समय मेरो विपक्षमा किन नहोस, म दानव नै रहनेछु । किन कि म झोले शिक्षक । अहँ म सुध्रीन्न । किन कि दलको दास बनेरै स्वार्थ लिएँ । मेरो झोले प्रवृत्तिको खिल भित्रै सम्म गडेको छ । त्यसैले त म झोले शिक्षक ।
लेखक कुसुम न्यौपाने जनता मावि मंगलचौर, अरुणखोला नवलपरासी(पूर्व)का शिक्षक हुन् ।



