६ महानगरको शिक्षामा बजेट, कुनको कति ? (नीति तथा कार्यक्रमसहित)

काठमाडौं/१२ असार-देश भरका करिब सबै स्थानीय तहहरुले आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय पलिकाहरुमध्येका ६ ठुला महानगरपालिकाहरुले पनि आफ्नो बार्षिक कार्यक्रम तथा नीति सार्वजनिक गरिसकेका छन् ।


महानगरपालिकाहरुले ल्याएको बजेटमा शहरी पूर्वाधारलाई प्राथमिकता दिएको देखिन्छ । तर, सबै भन्दा महत्वको विषय शिक्षा क्षेत्रमा कुन महानगरले कति रकम विनियोजन गरे भन्ने कुरा चासोको विषयबनेको छ ।


वीरगञ्ज महानगरपालिकाले असार ६ गते नै बजेट ल्याएको थियो भने अन्य ५ वटा महानगरले असार १० गते बजेट ल्याएका थिए । त्यसैगरी काठमाडौं महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै अन्य महानगर भन्दा धेरै बजेट शिक्षमा विनियोजन गरेको छ ।


काठमाडौं महानगरपालिका :
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३.७२ प्रतिशत र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६.२८ प्रतिशत बजेट ल्याएको हो ।


काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट रु. १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको हो । यस्तो छ काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रस्तुत गरेको शिक्षाको नीति तथा कार्यक्रम :


१.महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबर्द्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत बिभिन्न कार्यक्रम संचालन गर्न रु ५० करोड विनियोजन गरेको छु ।


२. सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको छु ।


३. सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाएको छु ।


४. महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मात्र खाजा खर्च उपलब्ध गराउंदै आइरहेकोमा आर्थिक वर्ष २०८०/८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाएको छु ।


५. महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न रु. ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छु ।


६. सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि गरिएको छ । सो को लागि आवश्यक रकमको प्रबन्ध मिलाएको छु ।


७. आर्थिक वर्ष २०८ ०८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट रु. १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छु ।


पोखरा महानगरपालिका :


पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरको १३ औं नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षभन्दा करिब डेड अर्ब रुपैयाँ कम बजेट हो । चालु आर्थिक वर्षमा पोखरा महानगरले ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।


पोखरा महानगरपालिकाले शिक्षा क्षेत्रका लागि १८ करोड रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा २० करोड बढि रकम विनियोजन गरेकोमा यो वर्ष केही कम शिक्षामा रकम विनियोजन गरिएको छ । यस्तो छ पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको शिक्षाको नीति तथा कार्यक्रम :


१. विद्यालय उमेर समूहका बालबालिकालाई भर्नाको सुनिश्चितता गर्दै गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाको पहुँचलाई थप विस्तार गरिनेछ । विद्यालयमा इन्टरनेट सेवा जडान गरी इ लाइब्रेरी, स्मार्ट टिभी, कम्प्युटर ल्याब सहितको इ–क्लास सञ्चालन गर्न प्रोत्साहित गर्दै लगिनेछ । सफा पिउने पानीको सुनिश्चितता गरिनेछ । संस्थागत विद्यालयले जेहन्दार, विपन्न, असहाय बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाइनेछ । संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत कर्मचारी तथा शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिनेछ ।


२. दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिई स्वस्थ र पोषणयुक्त दिवा खाजाको व्यवस्था मिलाइनेछ । खाजावापत उपलब्ध गराइदै आएको रकममा महानगरको तर्फबाट रु.१० थप गरि प्रति विद्यार्थी रु.२५ पुर्याइने छ । खाजाको रुपमा जङ्क फुडको उपयोगलाई निषेध गरिनेछ । सामुदायिक विद्यालयहरूमा दक्षता अभिवृद्धि सहित समयानुकूल पाठ्यक्रम तथा दक्ष जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन सञ्चालन गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ ।


३. महानगर भित्र प्राविधिक शिक्षामार्फत सिक्दै कमाउँदै कार्यक्रम लागु गरिनेछ । प्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई वडा र व्यावसायिक प्रतिष्ठानहरूमा पेड इन्र्टनको व्यवस्था मिलाइनेछ । गण्डकी बहुप्राबिधिक शिक्षालयको स्तरोन्नति गर्दै स्वास्थ्य तथा स्थानीय बजारको मागमा आधारित अन्य कार्यक्रम थप गरी सञ्चालनमा ल्याइनेछ । पोखरा महानगरपालिकाद्धारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको नाम संसोधन गरि पोखरा बहुप्राविधिक शिक्षालयमा रुपान्तरण गरिनेछ ।


४. परामर्श सेवा केन्द्र निजी स्तरमा सञ्चालित ट्युसन तथा कोचिङ सेन्टर, भाषा तालिम तथा प्रशिक्षण केन्द्रलाई कडाइका साथ नियमन गरिनेछ । लक्षित वर्गमा विशेष आवश्यकता र क्षमता भएका बालबालिकालाई प्राविधिक उच्च शिक्षामा अभिप्रेरित गर्न विशेष कार्यक्रम लागु गरिनेछ । आधारभूत तह (कक्षा १ देखि ५ सम्म) मातृभाषामा अध्यापन गराउनका लागि प्रशिक्षक तालिमको व्यवस्था गरी स्थानीय भाषाको प्रवद्र्धन गर्दै मातृभाषा मार्फत शिक्षा प्रदान गर्न प्रोत्साहन गरिनेछ ।


५. विद्यालय शिक्षा सुधार कार्यक्रम लागु गरिनेछ । महानगरले जारी गरेको १७ बुँदे विद्यालय शिक्षा सुधार निर्देशन कडाइका साथ लागु गरिने छ । प्रधानाध्यापकसँग महानगरले र शिक्षकसँग प्रधानाध्यापकले गरेको कार्यसम्पादन सम्झौतालाई दृढताका साथ कार्यान्वयन गरिने छ । कार्यसम्पादन उत्कृष्ट हुने विद्यालय तथा प्रधानाध्यापकलाई उचित प्रोत्साहन प्रदान गरिनेछ । वडा स्तरमा अनौपचारिक शिक्षा तथा प्राविधिक सिप सिकाइको लागि सामुदायिक सिकाई केन्द्रहरूलाई जिम्मेवार बनाइनेछ ।


६. बाल विकास केन्द्रहरूको सबलीकरण गर्दै बाल विकासको अनुभव सहित कक्षा १ मा भर्ना हुने वद्यार्थीको संख्यामा वृद्धि गरिनेछ । कक्षाकोठाको सिकाइलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ । शिक्षकको क्षमता अभिवृद्धिका लागि छोटो अवधिका तालिम कार्यक्रमहरु सञ्चालन गरिनेछ ।


ललितपुर महानगरपालिका :


ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो ।


ललितपुर महानगरपालिकाले आन्तरिक स्रोत तर्फ ५ करोड रकम विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा विनियोजन गरेको यो रकम अपुग भए सामाजिक विकार्स तर्फबाट थप गरिने महानगरको योजना रहेको बताएको छ । अघिल्लो वर्षमा ४ करोड ५० लाख शिक्षामा रकम विनियोजन गरिएकोमा यो वर्ष ५० लाख थप गरेको छ । यस्तो छ ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको शिक्षाको नीति तथा कार्यक्रम :


१. सामुदायिक विद्यालय तथा समुदायमा आधारित बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको पारिश्रमिक नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी सामञ्जस्यता मिलाइनेछ ।


२. ललितपुर महानगरपालिका भित्र सञ्चालित बालविकास केन्द्रहरुको सुदृढीकरणको लागि आवश्यक सामग्री खरिद तथा व्यवस्थापनका लागि एकमुष्ट रकम अनुदान स्वरुप प्रदान गरिनेछ ।


३. सामुदायिक विद्यालयमा आधारभुत तहको शिक्षालाई अनिवार्य तथा निःशुल्क गरिनेछ । माध्यामिक तहको शिक्षालाई निःशुल्क गर्दै लगिनेछ ।


४. आधारभूत तह कक्षा ८ को परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ। कक्षा ५ मा समेत उपलब्धी परीक्षण गर्ने व्यवस्था मिलाईनेछ । परीक्षा तथा विद्यार्थी मूल्याङ्कन पद्धतिलाई वैज्ञानिक तथा स्तरीय बनाउदै लगिनेछ ।


५. महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै शिक्षकहरूको क्षमता अभिवृद्वि गरी प्रविधिमैत्री कक्षा सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरु मध्ये कम्तिमा २ वटा विद्यालयलाई स्टेम विद्यालयको रुपमा छनौट गरी पूर्ण प्रविधि मार्फत शिक्षण सिकाईको व्यवस्था मिलाइनेछ ।


६. महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरु मध्ये यसै आर्थिक वर्ष भित्र कार्यसम्पादनमा आधारित मूल्याङ्कन पद्धति अनुसार विद्यालयहरुको मूल्याङ्कन गरिनेछ। विद्यालयहरूको कार्यसम्पादन मूल्यांकनको आधारमा अनुदान प्रदान गर्ने नीति अवलम्बन गरिनेछ ।


७. महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा सान्दर्भिक क्त्भ्ब्ः कार्यक्रम सञ्चालन गरिनेछ । महानगरपालिकाद्धारा यस सम्बन्धी नियमित अनुगमन तथा निरीक्षण गर्ने प्रबन्ध मिलाइनेछ ।


८. स्थानीय मातृभाषालाई प्राथमिकता दिदै आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयार गरी लागु गरिनेछ साथै प्रत्येक वर्ष माथिल्ला कक्षाहरू क्रमशः थप गर्दै लगिनेछ । महानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा नेपाल भाषाको पठनपाठन सञ्चालन गर्न प्रत्येक विद्यालयमा एकरएक शिक्षकको व्यवस्था गरिनेछ ।


९. स्थानीय, ऐतिहासिक, परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहनसहन, खानपान, सिपलाई प्रोत्साहन गर्न आवश्यक पाठ्यक्रम तर्जुमा र व्यवहारिक शिक्षामा जोड दिने नीति अवलम्बन गरिनेछ ।


१०. नगर भित्रका समुदायिक विद्यालयहरुमा विद्यालयको आवश्यकताका आधारमा विषयगत शिक्षक व्यवस्थापन गर्दै लगिनेछ ।


११. कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाइ वृत्ति मार्गनिर्देशन (करियर काउन्सेलिङ) कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयस्तरमा व्यवहारिक शिक्षाका लागि पढ्दै कमाउदै कार्यक्रम क्रमशः लागु गर्दै लगिनेछ ।


१२. संस्थागत विद्यालयको शैक्षिक पद्धति र गुणस्तरलाई सामुदायिक विद्यालयहरुमा समेत च्भउष्अिबतभ गर्ने गरी दुवै प्रकृतिका विद्यालयका शिक्षकहरुलाई संयुक्त प्रशिक्षण तथा अनुभव आदान प्रदानका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।


१३. विद्यालयस्तरमा खेलकुद, स्काउटका साथै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि सञ्चालन हुने कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । स्काउट सम्वन्धी क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।


१४. हाल सञ्चालनमा रहेका सामुदायिक सिकाई केन्द्रहरुलाई वडा कार्यालयहरुसँग आवद्ध गरी साक्षरताको अनौपचारिक तथा निरन्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिनेछ । साथै सामुदायिक अध्ययन केन्द्रहरूको संस्थागत सुदृढीकरण गर्दै लगिनेछ ।


१५. नेपाल सरकारद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दैनिक उपस्थितिका आधारमा दिवा खाजा वापत दिइँदैं आएको प्रति विद्यार्थी रु २५(पच्चीस) लाई निरन्तरता दिइनेछ ।


१६. महानगरपालिका क्षेत्र भित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिदै सरोकारवाला संघसंस्थाहरुको सहकार्यमा स्व.सत्यमोहन जोशी एकेडेमी स्थापनाका लागि आवश्यक कार्य गरिनेछ ।


१७. महानगरपालिका भित्र सञ्चालन भएका संस्थागत विद्यालयहरू मध्ये “क” श्रेणीका विशेष विद्यालयले वहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खर्च हुने रकम महानगरपालिकाबाट स्वीकृत गराई कार्यान्वयनमा लैजाने नीति अवलम्वन गरिनेछ । साथै सम्पूर्ण संस्थागत विद्यालयको स्तरीकरण गरी शुल्क निर्धारण प्रणालीलाई व्यवस्थित गरिनेछ ।


१८. संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृतिलाई पारदर्शी बनाउन शुक्ष्म अनुगमन गरिनेछ ।


१९. आगामी आर्थिक वर्ष भित्र नगरस्तरीय शिक्षा योजना निर्माण गरिनेछ ।


२०. सूर्यविनायक नगरपालिका लगायतले अवलम्बन गरेको प्रतिस्पर्धाका आधारमा सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनौट गर्ने व्यवस्था मिलाइनेछ ।


२१. सामुदायिक विद्यालयमा शौचालयको उचित व्यवस्थापन र निस्शुल्क स्यानिटरी प्याडको व्यवस्था मिलाईनेछ र शौचालय सरसफाईको अनुगमन नियमित रुपमा गरिनेछ । संस्थागत विद्यालयमा समेत निशुल्क स्यानिटरी प्याड अनिवार्य रुपमा राख्न आवश्यक नीतिगत व्यवस्था गरी कडाईका साथ लागु गरिनेछ ।


२२. शैक्षिक संस्थाहरुमा अध्यनरत विद्यार्थीहरुको इन्टर्नसिप लाई प्रभावकारी बनाउन समन्वयकारी भूमिका निर्वाह गरिनेछ ।


२३. सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवालाई कार्यविधि बनाई व्यवस्थित गरिनेछ ।


२४. सामुदायिक कलेजहरुको शैक्षिक गुणस्तरका लागि एकमुष्ट अनुदानको व्यवस्था मिलाइनेछ ।


भरतपुर महानगरपालिका :


चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ ।


भरतपुर महानगरपालिकाले शिक्षालाई प्राथमिकता दिदैँ आन्तरिक स्रोत तर्फ १३ करोड ३० लाख वजेट विनियोजन गरेको छ । यस्तो छ भरतपुर महानगरपालिकाकी उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको शिक्षाको नीति तथा कार्यक्रम :


१. महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइनेछ ।


२. शिक्षाको जगका रूपमा रहेको प्रारम्भिक बाल विकास शिक्षालाई गुणस्तरीय बनाउन महानगर भित्रका प्रारम्भिक बाल विकास उमेर समूहका सबै अवस्थाका बालबालिकाको शिक्षामा समतामूलक पहुँच सुनिश्चित हुने गरी बाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षाहरूको व्यवस्थापन सुधार गरिनेछ । मापदण्डका आधारमा सूचक विकास गरी बाल विकास केन्द्रको वर्गीकरण गर्नुका साथै क श्रेणीका बाल विकास केन्द्रलाई थप प्रोत्साहन उपलब्ध गराइनेछ ।


३. शैक्षिक व्यवस्थापनमा वडा शिक्षा समिति र वडा कार्यालयलाई जिम्मेवार बनाई सबै बालबालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तर सुधारका लागि महानगरबाट विनियोजन हुने बजेटका अतिरिक्त वडामा छुट्ट्याइएको बजेटबाट कम्तीमा १० प्रतिशत शिक्षा विकासका लागि विनियोजन गर्ने व्यवस्था मिलाइनेछ।सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको घोषणा गर्ने वडालाई सम्मान गरिनेछ ।


४. महानगरको स्रोतबाट अति सिमान्तकृत र लोपोन्मुख समूहका विद्यार्थीलाई प्रदान गरिँदै आएको महानगर छात्रवृत्ति आगामी वर्षबाट दलित विद्यार्थीहरूलाई समेत थप गरी प्रदान गरिने छ ।संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।


५. सबै विद्यालयमा गुणस्तरीय शिक्षण (सिकाइको वातावरण निर्माण गर्न व्यवस्थापन गरिएका इन्टरनेट, कम्प्युटर र विषयगत शैक्षिक सामग्री लगायत उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिइनेछ। समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई क्ष्ऋत् तालिम प्रदान गरी क्षमता विकास गरिनेछ ।


६. विद्यालय तहबाटै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सामुदायिक माध्यमिक विद्यालयमा स्थापना भएका विज्ञान, गणित, भाषा र सामाजिक प्रयोगशालाहरूलाई स्टिम एजुकेसनको अवधारणा अनुरूप कार्यान्वयनमा ल्याइनेछ ।


७. माध्यमिक तहमा प्राविधिक शिक्षाको विस्तारका लागि विद्यार्थी सङ्ख्या उच्च भएका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९देखि १२ मा प्राविधिक धार सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।


८. शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न श्रमको सम्मान, राष्ट्रको स्वाभिमान भन्ने नाराका साथ माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।


९. विद्यालयलाई अपाङ्गतामैत्री र छात्रामैत्री बनाउने गरी समावेशी पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ।सबै विद्यालयमा नियुक्त लैङ्गिक सम्पर्क शिक्षकको क्षमता विकासलाई निरन्तरता दिइनेछ ।


१०. शैक्षिक क्यालेन्डर निर्माण गरी सबै अवस्थाका बालबालिकाको प्रतिभा प्रस्फुटन र विकासका लागि अवसर प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।


११. जनप्रतिनिधिलाई विद्यार्थीसँग जोड्दै विद्यार्थीका भावना, विचार, अपेक्षा र आवश्यकता बुझ्न र उनीहरूलाई प्रेरणा र हौसला प्रदान गर्न माध्यमिक तहका विद्यार्थीसँग नगर प्रमुख तथा उपप्रमुखको प्रत्यक्ष उपस्थितिमा अन्तरक्रिया गर्ने गरी विद्यार्थीसँग मेयरू कार्यक्रम सञ्चालन गरिनेछ ।


१२. सबै विद्यालय पूर्वाधारलाई बालमैत्री बनाउने महानगरको नीति अनुसार अभियानका रूपमा कार्यान्वयनमा ल्याइएको जस्तापाताको छानो भएका सबै कक्षाकोठामा फल्स सिलिङ र विद्यालय कलर कोड अनुसार सबै विद्यालयको रङ्गरोगनको कार्य यसै वर्ष सम्पन्न गरिनेछ । यसै वर्षबाट माध्यमिक विद्यालयमा स्तरोन्नति भएको वडा नं. २९ को माध्यमिक विद्यालय चौकीडाँडाको चार कोठे भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।


१३. अपाङ्गता तथा कार्यगत सीमितता भएका, लक्षित वर्ग, विपन्न तथा सामाजिक रुपले पछाडि परेका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनुका साथै वडा नं. २६ को आदर्श मावि दिव्यनगरमा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि स्रोतकक्षा यसै शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइनेछ ।


१४. चितवन माविमा सञ्चालित बहिरा स्रोतकक्षालाई व्यवस्थित गरी हाल कक्षा ७ सम्म पठनपाठन हुने गरेकोमा थप शिक्षकलाई साङ्केतिक भाषाको तालिम प्रदान गरी क्रमशः माध्यमिक तहको कक्षा १२ सम्म पठनपाठनको व्यवस्था मिलाइनेछ ।


१५. स्वस्थ जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा पद्धतिलाई शिक्षाको अभिन्न अङ्गका रुपमा अवलम्बन गर्न ूशिक्षामा योग, टाढा राखौं रोगू भन्ने नाराका साथ सामाजिक संघसंस्थासँगको समन्वयमा विद्यालयहरूमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।


१६. लक्षित वर्ग, विपन्न, सामाजिक रुपले पछाडि परेका बालबालिकाहरूको सिकाइ निरन्तरताका लागि “बालबालिकासँग मेयर” कार्यक्रमलाई निरन्तरता दिइनेछ । एस.ओ.एस. बालग्राम लगायतका संघसंस्था तथा संस्थागत विद्यालयसँग समन्वय गरी अनाथ र असहाय बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।


१७. विषय समितिहरू मार्फत् शिक्षकको पेशागत दक्षता र सूचना प्रविधिको उपयोग क्षमता अभिवृद्धि कार्यलाई निरन्तरता दिइनेछ ।


१८. हाम्रो मौलिक सभ्यता, साँस्कृतिक मूल्य मान्यता र श्रमको सम्मान जस्ता विषयमा शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन मौलिक र व्यवहारिक शुक्रबारू अभियान कार्यान्वयनमा ल्याइनेछ । उक्त दिन पाठ्यपुस्तक रहित सिकाइका क्रियाकलापहरू जस्तै, स्थानीय पाठ्यक्रमका क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद, संगीतका क्रियाकलापहरू, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षारोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ ।


१९. सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभाव पुरा गरी सिकाइ वातावरण सुनिश्चित गर्न गत वर्षबाट कार्यान्वयनमा ल्याइएको एक कक्षा एक शिक्षक कार्यक्रममार्फत् युवा स्वयंसेवक शिक्षक परिचालनलाई निरन्तरता दिइनेछ ।


२०. हाम्रो गौरव, हाम्रो भरतपुरू विषयको कक्षा १–८ को स्थानीय पाठ्यक्रमको सिकाइलाई व्यवहारिक र प्रत्यक्ष रूपमा संलग्न भएर सिक्ने सिकाउने व्यवस्था मिलाउन स्थानीय पाठ्यक्रममा आवश्यक परिमार्जन गर्दै शिक्षक निर्देशिका विकास गरी कार्यान्वयनमा ल्याइनेछ ।


२१. शैक्षिक गुणस्तर अभिवृद्धिका मापदण्ड निर्धारण गरी एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न “मेयर डिजिटल शिक्षा” कार्यक्रमलाई एक वडा एक नमुना विद्यालय कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयनमा ल्याइनेछ । त्यसका लागि पहिलो वर्ष ३ वटा विद्यालयमा स्मार्ट कक्षाकोठा सञ्चालनको पाइलटिङ गरी क्रमशः सबै सामुदायिक विद्यालयमा विस्तार गरिनेछ ।


२२. सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नतिजाका आधारमा पुरस्कृत गरिनेछ ।


२३. सामुदायिक विद्यालयको विद्यालय कर्मचारी, विद्यालय सहयोगी र बाल विकास शिक्षिका उमेर हदका कारण अनिवार्य अवकाश हुँदा सहयोग स्वरूप आगामी वर्षबाट एकमुष्ठ रकम एक लाख रुपैयाँ उपलब्ध गराइनेछ ।


२४. विद्यार्थी सङ्ख्या र भूगोलका आधारमा सामुदायिक विद्यालयको मूल्याङ्कन गरी शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजनको कार्यलाई निरन्तरता दिइनेछ । नियमावलीमा तोकिएको न्यूनतम् विद्यार्थी सङ्ख्या नपुगेका संस्थागत विद्यालयलाई अर्को संस्थागत विद्यालयसँग मर्जरमा जान अवसर प्रदान गर्ने र मर्जरमा नगएमा कक्षा तह वा विद्यालयको अनुमति रद्द गर्ने गरी प्रक्रिया अगाडि बढाइनेछ ।


२५. संस्थागत विद्यालयमा बालबालिकाको स्वास्थ्य अनुकूल भवन तथा पूर्वाधारको व्यवस्था गर्न लगाउनुका साथै त्यहाँ कार्यरत शिक्षक कर्मचारीलाई कानुन बमोजिम न्यूनतम सेवा सुविधा उपलब्ध गराउन लगाई सोको अनुगमन तथा नियमन गरिनेछ ।


२६. महानगरपालिकाभित्र उच्च शिक्षा सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउन आवश्यक सहयोग र समन्वय गरिनेछ ।
२७. सामुदायिक सिकाइ केन्द्रलाई आवश्यकता र क्षमताका आधारमा सामुदायिक पुस्तकालयका रूपमा विकास गरी निरन्तर शिक्षा र पठन संस्कृतिको विकासका साथै सीपमूलक तथा आयआर्जनका कार्यमा क्रियाशील बनाइनेछ ।


२८. वडा नं.२९ का विद्यालयमा कार्यरत घरबाट आवतजावत गर्न नसकी आवास लिई बस्न पर्ने शिक्षक (राजमार्गसँग जोडिएका विद्यालयमा कार्यरत बाहेक)लाई आवास भत्ता बापत मासिक रु दुई हजार प्रोत्साहन स्वरुप उपलब्ध गराइनेछ ।


विराटनगर महानगरपालिका :


विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीले प्रस्तुत गरेकी बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।


विराटनगर महानगरपालिकाले आन्तरिक स्रोत तर्फबाट ७ करोड रकम विनियोजन गरेको छ । कुल वजेटको २२ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको महानगरपालिकाले जानकारी दियो । संघीय सरकारले दिएको रकम सहितको गरी शिक्षामा कुल ६७ करोड ९४ लाख बजेट विनियोजन भएको जनाएको छ । महानगरले अरु क्षेत्रको बजेट घटे पनि शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट नघटेको बतायो ।


वीरगञ्ज महानगरपालिका :


वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । ६ असारमा आएको बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब २३ करोड कम हो । वीरगञ्ज महानगरले चालु आव २०७९/८० मा कुल ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार बजेट विनियोजन गरेको थियो । महानगरले शिक्षा क्षेत्रलाई प्राथमिकता दिदैँ १२ करोड बढी रकम विनियोजन गरेको जानकारी दियो ।