काठमाडौं/६ असार-काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशन र बीपीआई फाउन्डेसनले विशेष शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । विशेष आवश्यकता भएका बालबालिकाको शैक्षिक अवसरहरू सुधार गर्ने लक्ष्यलाई सशक्त बनाउन दुई पक्ष बीच सम्झौता भएको हो ।
लेटर अफ एग्रीमेन्ट मार्फत औपचारिकताको रुप लिइएको यो सहकार्यले नेपालमा समावेशी शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ । बीपीआई फाउन्डेसन विभिन्न अवस्था भएका बालबालिकाहरूलाई विशेष स्वास्थ्य सेवा र पुर्नस्थापना सेवाहरू प्रदान गर्न समर्पित एक गैर सरकारी संस्था हो र जसले काठमाण्डौं विश्वविद्यालयको स्कूल अफ एजुकेशनसँग आगामी दिनमा सहकार्य गर्नेछ ।
विश्वविद्यालयका डिन डा. बालचन्द्र लुइँटेलले साझेदारीको उद्देश्य विशेष आवश्यकता भएका बालबालिकाको आवश्यकता अनुरूप शैक्षिक कार्यक्रमहरू विकास गर्न र डेलिभर गर्न दुवै संस्थाको स्रोत र विशेषज्ञताको उपयोग गर्ने बताए । उनले सहकार्यले संयुक्त रूपमा शैक्षिक कार्यक्रमहरू, पाठ्यक्रम, शैक्षिक पहलहरू, र विशेष आवश्यकता भएका बालबालिकाहरूको सिकाइ , मूल्याङ्कनका प्रभावकारी मोडहरू पूरा गर्ने विषयलाइ सहकार्यले जोड दिने बताए ।
यसबाहेक, यस सहकार्यले आफ्नो पहुँचलाई नजिकैको इलाकाभन्दा बाहिर विस्तार गर्ने योजना पनि बनाएको छ । तालिम कार्यक्रमहरूलाई प्रादेशिक तह र बिपिईएफ द्वारा सञ्चालित केन्द्रहरूमा लगिनेछ, जसले दुवै संस्थाको विशेषज्ञताबाट सम्बन्धित सरोकारवालाहरुलाई लाभान्वित गर्न प्रोत्साहन गर्नेछ । साथै फाउन्डेसनका कार्यकारी निर्देशक डा. सञ्जिब उपाध्यायले विश्वविद्यालयसँगको सम्झौताले विशेष शिक्षा कार्यक्रमहरूको विकासका लागि शैक्षिक गतिविधि र स्रोतहरू सुरक्षित गर्न संयुक्त अनुसन्धान परियोजनाहरूमा सहयोग हुने बताए ।
बीपीआई फाउन्डेसन र काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन बीचको साझेदारीले समावेशी शिक्षा र विशेष आवश्यकता भएका बालबालिकाको सशक्तिकरणको प्रतिबद्धतालाई जनाउने छ ।
साझेदारीको महत्वपूर्ण पक्षहरू मध्ये एक प्रशिक्षण हो । बीपीईएफ र काठमाडौं विश्वविद्यालयले बालबालिकालाई मात्र नभई उनीहरूका अभिभावक र विशेष आवश्यकता भएका वयस्कहरूलाई पनि तालिम दिन सहकार्य गर्नेछन् ।
कार्यक्रममा कार्यशालाहरू, व्यावहारिक शिप , र सीप विकास पहलहरू समावेश हुनेछन् जसले व्यक्तिहरूलाई नयाँ नयाँ टेक्नोलोजी र उद्योग सम्बन्धित ज्ञानहरू उजागर गर्दछ । यी प्रयासहरूले केटाकेटीहरूलाई अझ बढी विद्यालय जानका लागि तयार बनाउन र समाजमा सफल एकीकरणको सम्भावनाहरूलाई सुधार गर्ने लक्ष्य राख्दछ ।



