काठमाडौँ /३२ जेठ-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।
मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् । उत्कृष्ट शिक्षा नेपालमै भन्ने नाराका साथ आजदेखि सुरु गरिएको मेला असार ३ गतेसम्म चल्ने छ । मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम सञ्चालन गरेका संस्थाहरुको सहभागिता रहेको छ ।
मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जानकारी दिए ।
कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकाय÷विषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजकले जनाएको छ ।
मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने एक हजार बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको हिसानले जानकारी दियो । साथै विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने दुई लाख बढीले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ ।



