काठमाडौं/३० जेठ-काठमाडौं महानगरपालिका राजनैतिक दलले लगाएको विद्यालयको ताला तोडेको छ । मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागका कर्मचारीद्धारा विभिन्न विद्यालयमा लगाइएको ताला तोडेको हो ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहाले सामाजिक सञ्जालमा लेख्दै ताला तोडिएको जानकारी दिएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो । हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौं । र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो । यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
शाहाले भनेका छन् ‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ । चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनांै । त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छांै ।’
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर सत्तारुढ माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार बुढानिलकण्ठको भ्याली पब्लिक स्कुल, स्वयम्भूको संस्कृत स्कुल, नक्सालको ग्यालेक्सी स्कुल, मालीगाउँको वृहस्पति विद्या सदन, बाँसबारीमा रहेको युलेन्स स्कूल र काष्ठमण्डप स्कुलमा तालाबन्दी गरेको थियो ।



