काठमाडौं/१० जेठ-पाठ्यपुस्तक मार्फत व्यक्ति पूजा, स्तुतिगान र देवत्वकरण सिकाउने शिक्षामा हुर्किएको हामी ६०, ७०, ८० र ९० दशकका “जेनेरेशन एक्स, वाई र न्यून संख्याका जी/जेड“ पुस्तालाई “पाठ्यपुस्तक“ सबथोक लाग्नु र त्यहाँ उल्लेखित व्यक्तित्वहरु देवतुल्य लाग्नु स्वाभाविक हो किनकी राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको तस्वीरहरु पाठ्यपुस्तकको सुरूवाती पृष्ठमा देख्दै आएका अधिकांश शिक्षक तथा शिक्षाकर्मीहरुलाई अझै “पाठ्यपुस्तक नै पाठ्यक्रम“ भन्ने सोच हावी छ । तर बिर्सन नहुने कुरा, हामी २१ औं शताब्दीको प्रविधिपुस्ता “जेनेरेशन अल्फा“लाई पढाउँदै छौं ।
गज्जबको कुरा त पाठ्यक्रम बनाउने पुस्ता पनि त्यही पृष्ठभूमिका भएकोले होला, पाठ्यक्रममै पनि त्यही चेतले जरो गाडेको छ । यस वर्षदेखी पूर्णरुपमा लागू भएको नयाँ पाठ्यक्रमले त झन “विषयवस्तु र क्षेत्र“ पनि तोकेर पाठ्यक्रमलाई यथासम्भव संकुचित बनाएको छ; पाठ्यपुस्तकमा छपिने विषयक्रमलाई नै राष्ट्रीय र केन्द्रीकृत रुपमा “प्रेस्क्राइब“ गरेको छ । यस्तो संरचनामा चाहिँ व्यक्तिको नाम संलग्न हुनु वा छुट्नु ठूलै महत्वको विषय हो । बनाउनेलाई “ठूलै केहि उखाड्यौं“ जस्तो लाग्या होला तर यो भूल मात्र नभई महाभूल हो किनकी यसले सिकाईको सान्दर्भिकता, सामयिकता र सम्बन्धिततालाई समूल नष्ट गर्छ । पाठ्यक्रमलाई साँघुरो, संकीर्ण र एकपाखे बनाउँछ ।
पाठ्यक्रम खुल्ला, सीमारहित र गतिशील हुनु पर्दछ । उत्कृष्ट शिक्षा प्रणालीमा शिक्षकहरु यसका निर्माता वा कमसेकम सहनिर्माता हुन्छन र हरेक वर्ष वा सेमेस्टर पाठ्यक्रम परिवर्तन गरिन्छ । “यी यी व्यक्तिहरुका विषयमा यी यी कुराहरु पढ“ भनेर “प्रेस्क्राईब“ गर्नु, ती व्यक्तिहरूको संक्षिप्त जीवनी एकजना लेखकले घरमा बसेर लेख्नु, त्यसलाई संघीय केन्द्रमा रहेको जनक शिक्षाले छाप्नु र त्यसलाई देशैभरका स्कूलहरुमा रटाउनु नै शिक्षा र सिकाई हो ? यो बेवकूफी कहिलेसम्म लाने ??? जीवनीबाट दिनु पर्ने सिकाईका लागि स्थानीय, राष्ट्रीय र अन्तराष्ट्रिय व्यक्तित्वहरुको स्वतन्त्र रुपमा छनोट गर्न लगाउने, खोजी गर्न लगाउने, खोजिएका तथ्य, जानकारी र प्रमाणहरुका आधारमा विद्यार्थीहरुलाई फरक फरक व्यक्तित्वका भिन्न भिन्न जीवनीहरु तयार गर्न लगाएर बायोग्राफीको एउटा छुट्टै पुस्तक सिर्जना गर्न लगाउन सकिन्न ?
यस्तो गरे सन्दूक रुईतको मात्र हैन, कसैको पनि जीवनी राख्न जरूरी छैन । नत्र विद्यार्थीहरु चाहिँ सँधै पाठक मात्रै हुनु पर्ने ? लेखक–सर्जक बन्न नपर्ने/नपाइने ? सँधै अरुको विचार र दर्शनको भरिया मात्र बन्नु पर्ने ? विचारक, चिन्तक र दार्शनिक बन्नै नपाइने/नहुने ? वाह रे तेरो शिक्षा, सरकार !!! उचित अवसर सिर्जना गर्न सके कक्षा १ का नानीबाबूहरु समेत कसरी सर्जक बन्न सक्छन भन्ने हेर्न गोल्डेन गेटको “मकै घर“मा आउन सबैलाई निमन्त्रणा छ ।
भारतको उच्च उचाईको भूभाग लद्दाखको पातालमा भासिएको शिक्षालाई माथि उकास्न सोनम वाङ्चुकले गरेको पहिलो काम भनेको दिल्लीमा छापीएर वितरण हुने हिन्दी भाषाको असान्दर्भिक पाठ्यपुस्तकको वहिष्करण र त्यसको स्थानीय संदर्भ र भाषाबाट प्रतिस्थापन हो । तर यसवर्ष हामी हिमाल तराई सबैतिर जनक शिक्षाको किताब पुर्याउन सकेकोमा गर्व गर्दैछौं । त्यसैले त अध्ययनहरुले भन्छ, विकसित देशहरुको तुलनामा नेपालको शिक्षा १०० वर्ष पछाडि छ ।
(सिङ्ग लामा शिक्षाकर्मी तथा एमआई पिबिल प्रवर्तक हुन् )