काठमाडौँ /१ जेठ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकामा सञ्चालित शैक्षिक परामर्श संस्थाहरूमा छापा मारेको छ । अनुमति विना सञ्चालन गरिएका ९५ शैक्षिक परामर्श संस्थाहरूमा छापा मारेको हो ।
उच्च शिक्षाका लागि विदेश पठाईदिन्छु भनि ठगी गर्ने गरेको उजुरीका आधारमा छापा मारेको प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले जानकारी दिए । साथै अनुमतिबिना सञ्चालनमा रहेको शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको उनको भनाई छ ।
“शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका,२०७३ मा उल्लेखित शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नु पर्ने मापदण्ड/प्रक्रिया पुरा नगरी, दर्ता नविकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा शुक्रवार कारबाही गर्ने क्रममा ६९ जना शैक्षिक परामर्श केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ” विज्ञप्तिमा भनिएको छ ।
साथै अन्य शैक्षिक परामर्श केन्द्रहरूद्वारा ठगीमा परेका अन्य नागरिकहरूले यथाशीघ्र प्रहरी कार्यालयमा सम्पर्क राख्न सम्त भनिएको छ ।



