कुदृष्टिले हेर्ने बैगुनी शिक्षक भन्दै शिक्षकसँग पुनले मागे माफी

काठमाडौँ /१ जेठ – प्रतिनिधि सभाका स्वतन्त्र सदस्य महावीर पुनले राहत कोटामा बसेको शिक्षकले राम्ररी पढाउँदै पढाउँदैनन भन्ने शब्द अचानक बोलिएको भन्दै माफी मागेका छन् । बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा राहत शिक्षकले राम्रो पढाउँदैनन भन्ने शब्द मुखबाट अचानक निस्केको र त्यसमा शिक्षकहरूले खेदो खनेको भन्दै माफी मागेका हुन् ।


उनले आफू मन्त्री हुँदा शिक्षकहरूको मर्म बुझेर राहत र त्यस्तै अन्य कोटामा काम गरी रहेका ४५ हजार जति शिक्षकहरूलाई दरबन्दीमा लैजाउँ भनेर सकेसम्म कोसिस गरेको हो र अहिलेसम्म मन्त्रालयमा पनि सकेको प्रयास गरी रहेको बताएका छन् ।


तर उनले बोलेको शब्दलाई लिएर शिक्षकले विरोध गरेपछि त्यही कुरालाई लिएर जरो न खन्न समेत चेतावनी दिएका छन् ।


पुनले भनेका छन् “राहत र यस्तै कोटामा काम गरी रहनुभएका र मलाई कुदृष्टिले हेर्ने बैगुनी शिक्षक साथीहरू, म मन्त्री हुँदा शिक्षकहरूको मर्म बुझेर राहत र त्यस्तै अन्य कोटामा काम गरी रहेका ४५ हजार जति शिक्षकहरूलाई दरबन्दीमा लैजाउँ भनेर सकेसम्म कोसिस गरेको हो र अहिलेसम्म मन्त्रालयमा पनि सकेको प्रयास गरी रहेको छु । हिजो संसदमा पनि त्यही बोलेका हो । बोल्ने क्रममा राहत शिक्षकले राम्रो पढाउँदैनन भन्ने शब्द मेरो मुखबाट अचानक फुस्केछ । माफ गर्नुहोला । तर त्यही कुरालाई लिएर मेरो जरो नखन्नु होला । जरो खन्ने जति खच्चड हुन, लौजा ।”


यसैगरी बिहीबार बसेको सांसद बैठकमा पुनले भनेका छन् ‘शिक्षामा सुधार गर्नको लागि माध्यमिक शिक्षामा २०५६ सालदेखि शिक्षकको दरबन्दी बढाइएको छैन । राहत कोटा भनेर करिब ४५ हजार शिक्षकहरू छन् । त्यसलाई कोटामै बदलियोस् । राहत कोटामा बसेको शिक्षकले राम्ररी पढाउँदै पढाउँदैनन्, किनभने उसले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नको लागि अर्को उपाय खोजिरहेको हुन्छ ।’