काठमाडौं/१४ फागुन–शैक्षिक परामर्श व्यवसाय संघ (इक्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आशयपत्र गलत भएको आशंकामा फर्काइएको विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिनुपर्ने इक्यानको माग छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै इक्यानले शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नहुँदा यस्तो समस्या आएको बताएको छ ।
ईक्यानले नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष बारम्बार यस सम्बन्धि आग्रह गर्दै आए पनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको जनाएको छ । शिक्षा मन्त्रालयले ध्यान नदिँदा केही दलाल तथा बिचौलियाहरुले यसको फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको इक्यान आफ्नो विज्ञप्तिमा प्रष्ट पारेको छ ।
इक्यानले यस्ता गलत क्रियाकलाप रोक्न शिक्षा मन्त्रालयबाट जारी हुने एनओसीलाई यथाशक्य अनलाइन प्रणालीमा लैजान र सम्बन्धित परामर्शदाता वा निवेदकको विवरण समेत समावेश गर्न माग गरेको छ ।
त्यसको परीक्षणका लागि अध्यागमन विभाग समेतका सम्बन्धित नियमनकारी निकायहरुको सहज पहुँच हुने अनलाइन प्रणाली विकास गर्नुपर्ने इक्यानको भनाई छ ।
निर्दोष विद्यार्थीलाई निजले प्राप्त गरेको कागजात परीक्षण गर्ने सम्बन्धित सरकारी निकायको अव्यवस्थाका कारण यसरी मर्कामा पर्ने अवस्था जायज हुन सक्दैन । यसमा विद्यार्थीको कुनै दोष नदेखिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेको भनाई छ ।
अन्तर्राष्ट्रिय उडानहरु २४ घण्टा चलिरहने तर सरकारी कार्यालय समय निश्चित समयमा मात्रै काम गर्ने भएकाले कार्यालय बन्द रहेको अवस्थामा यस्ता समस्या दोहोरी रहने निश्चित भएको पाण्डेको भनाई छ ।
उक्त घट्नाका दोषी (जसले नक्कली कागजात बनाएको छ) त्यसलाई र निजले सेवा लिएको परामर्शदाताको संलग्नता देखिएमा परामर्शदाता समेतलाई कडाभन्दा कडा कारबाही गर्न तथा निर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्यमार्फत् क्षतिपुर्ति दिलाउन सम्बन्धित सरकारी निकाय समक्ष इक्यानले माग गरेको छ ।
उच्च शिक्षाका लागि अध्ययन गर्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट शिक्षा मन्त्रालयले जारी गरेको एनओसी आशयपत्र गलत भएको आशंकामा ५८ जना विद्यार्थी फर्काइएको थियो ।