विद्यार्थीसँग घुलमिल हुन सक्ने शिक्षक मात्र सफल शिक्षक

काठमाडौं /२ पुष-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँगको समन्वयमा सिपिइपी कार्यक्रम अन्तर्गत आदर्श जनप्रेमी अङ्ग्रेजी माध्यमिक विद्यालय कौशलटार,भक्तपुरले शिक्षकको क्षमता अभिवृद्धिलाई निरन्तरता दिएको छ ।


काठमाडौँ विश्वविद्यालयको प्रतिनिधि एवम् सिपिइपी संयोजक डा.पार्वती ढुङ्गाना पौडेल र प्रशिक्षकद्वय प्रवीण देसार र देवीराम आचार्यको प्रस्तुतिमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयमा कार्यरत सबै शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


विद्यार्थीहरूलाई विषय वस्तुप्रति के कसरी सक्रिय बनाउने उद्देश्यका साथ सञ्चालित तालिमको पहिलो चरणमा प्रशिक्षक प्रवीण देसारले इनोभेटिभ पद्धति अन्तर्गत विद्यार्थीहरूलाई समूहगत छलफलमा सक्रिय गराउनुपर्ने विषयमा जोड दिएका थिए ।


विद्यार्थीलाई समूहमा बाँड्दा सर्वप्रथम सामान्य समूह बनाई त्यस समूहबाट प्राप्त ज्ञान अन्य समूहमा पुु–याउन जिग्सव विधि अपनाउनुपर्ने विचार प्रस्तुत गरेका थिए । यसरी जिग्सव गर्दा पहिलो समूहमा प्राप्त भएको ज्ञान र अनुभव सबै समूहमा पुग्ने अनि त्यहाँ सबै समूहका ज्ञान आदानप्रदान गरेपश्चात् पुनः पुरानै समूहमा फर्केर प्राप्त ज्ञानलाई व्यवस्थित गर्न विद्यार्थी सफल हुने पक्षमा तालिमको ध्यान केन्द्रित भएको थियो ।


साथै विद्यार्थीलाई समस्या अथवा गृहकार्य समाधान गर्न घरमा पठाउँदा त्यसको समाधानका उपाय घरमा नहुने भएकाले इन्डक्टिभ मेथड्बाट विद्यालयमा नै समाधानका उपाय खोज्नुपर्ने विचार उनले व्यक्त गरे ।


दोस्रो चरणमा आफूलाई शिक्षाकर्मी भन्न रुचाउने प्रशिक्षक देवीराम आचार्यले ‘शिक्षण सिकाइका विविध आयामहरू र नेतृत्व’ शीर्षकमा आफ्ना विचार प्रस्तुत गरेका थिए । विद्यार्थी अथवा बालबालिकाहरूले विद्यालयमा शिक्षक / शिक्षिकाहरूसँग रहँदा घरमा जस्तै सुरक्षित भएको अनुभव गर्ने वातावरण निर्माणमा शिक्षक, विद्यालय प्रशासन एवम् प्रिन्सिपल लाग्नुपर्ने उनको भनाइ थियो ।


खाजा खाँदा, युटुब एवम् फेसबुक चलाउँदा, पत्रपत्रिका पढ्दा, खेलकुद ( भलिबल÷ टेबुलटेनिस आदि ) गर्दा अनि पढाइबाहेक अन्य व्यावहारिक विचारमा उनीहरूसँग बहस गरी विद्यार्थीसँग घुलमिल हुने अनि विषयमा पनि दक्ष हुने शिक्षक नै पूर्ण सफल हुन सक्ने बताए । यसरी शिक्षक एवम् विद्यालयका प्राचार्यले विद्यार्थीसँग नेतृत्वदायी भूमिका निर्वाह गर्न सके विद्यालय सफल हुने धारणा व्यक्त गरे ।


अन्त्यमा विषयमा दक्षताका साथै विभिन्न क्रियाकलापमा विद्यार्थीहरूसँग घुलमिल हुन सक्ने शिक्षक नै सफल शिक्षक हुने तथ्यका साथ तालिम समापन भएको थियो ।