काठमाडौं/२ पुष-काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र प्ले नेपाल, पाठ्यक्रममा आधारित खेलकुद शिक्षा संस्थाले शैक्षिक ज्ञान, सीप र अध्यापनमा शिक्षकको भूमिका अभिवृद्धि गर्ने भएको छ ।
कक्षा १ देखि ८ को खेलकुद प्रशिक्षक र शिक्षकहरूका लागि पाठ्यक्रम विकास र प्रसार गर्न सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो घोषणा गरेको हो । साथै युनेस्को यस पहलको प्राविधिक साझेदार हुनेछ ।
प्ले नेपाल, काठमाण्डौ विश्वविद्यालय र युनेस्कोले मिलेर पाठ्यक्रम विकास गरी खेलमा आधारित शिक्षाशास्त्र मार्फत महत्वाकांक्षी प्रशिक्षक र शिक्षकहरूका लागि थप अवसरहरू सिर्जना गर्ने उदेश्यका साथ उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयले जनाएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका तर्फबाट डीन प्रा.डा.बालचन्द्र लुइटेल र प्ले नेपालका तर्फबाट कार्यकारी निर्देशक प्रकाश बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सो समारोहमा सहप्राध्यापक तथा सहायक डीन डा. प्रकाशचन्द्र भट्टराई, सिपिइसी संयोजक डा.पार्वती ढुंगाना पौडेल, सिपिइसी आरए सन्दिप ढुंगाना र प्रबन्धक शिव मैनालीको उपस्थित रहेको थियो ।
युनेस्कोका तर्फबाट शिक्षा प्रमुख डा.ध्रुव रेग्मी र युवा संलग्नता विशेषज्ञ, सामाजिक तथा मानव विज्ञान (एसएचएस) फोकल प्वाइन्ट, युनेस्को, कन्ट्री अफिस नेपालका सविन लामिछानेले यो कार्यक्रम सञ्चालनका लागि पहल गरेको थिए ।



