रुपन्देही/२३ भदौं-लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँले सरकारले प्रदेश भित्रको शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताएका छन् ।
उनले प्रदेश सरकारले आफ्नै बिश्व बिद्यालय सञ्चालन गर्ने गरी बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राबिधिक विश्वविद्यालय स्थापना गरेको बताउदै शिक्षा क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्टाएको बताए ।
रुपन्देहीको सियारी गाउँपालिकामा तेश्रो सियारी शिक्षा दिवस तथा ५६ औ अन्तराष्ट्रिय शाक्षरता दिवस बिभिन्न कार्यक्रममा बोल्दै मन्त्री खाँले उच्च शिक्षामा पनि लगानी बृद्धि गरिएको बताए ।
उनले सियारीलाई शिक्षाको हवको रुपमा विकास गर्दै जाने योजना अनुसार सियारीको शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु परेको बताए । सियारीस्थित छपियामा प्रदेशकै नमुना विज्ञान संग्रालय निर्माण गर्न लागिएको बतायँदै सियारीको छपिया नमुना माविलाई प्रदेशकै नमुना संग्रालयको रुपमा विकास गर्न १० करोड रुपैया विनियोजन भएको र त्यसको काम केहि समय भित्रै शुरु हुने बताए ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई पर्यटनका साथ साथै शिक्षाका क्षेत्रमा पनि परिचित बनाउने गरी कामहरु अगाडि बढेको बताए । उनले यस क्षेत्रका कतिपय विद्यालयहरुको स्तरोन्नती गर्नुपर्ने भएकाले प्रदेश सरकारले आवश्यक बजेटको प्रबन्ध मिलाईदिन मन्त्री खाँसमक्ष आग्रह गरे ।
शिक्षा दिवसको अवसरमा सियारी गाउँपालिका भित्र शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, विद्यार्थी लगाएतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख सुधिर पौडेल लगाएतले बोल्दै १० बर्षे सियारी शैक्षिक योजना निर्माण गरी त्यसको कार्यन्वयनको बाटोमा रहेको उल्लेख गरे । उनिहरुले सियारीको शैक्षिक गुणस्तरमा सुधार आएको बताउदै सियारीलाई शैक्षिक हवको रुपमा विकास गर्नका लागि पालिका लागिरहेको जानकारी दिए ।




