योगेश भट्टराईलाई एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको प्रश्न : एमालेको पार्टी कार्यालय कहाँ छ ?

काठमाडौं/१९ कार्तिक-नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका सचिव योगेश भट्टराई व्याक्त गरेको विचार प्रति आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै भट्टराईले एकीकृत समाजवादी पार्टिका बारेमा दिएको अभिव्यक्तिमा गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो ।


केही दिनअघि एमालेको महाधिवेशनबारे जानकारी आयोजित पत्रकार सम्मेलन कार्यक्रममा माधवकुमार नेपाल नेतृत्वको पार्टी अवैध गर्भधारणबाट जन्मिएको भन्दै उसको ठेगाना पनि नभएकाले महाधिवेशनमा निम्तो नदिने बताएका थिए ।


यसै विषयलाई लिएर संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाई बिर्सेर व्याक्त गरेको विचारले आफ्नै राजनितिक कद घटाईरहेको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलिले विज्ञप्तिमा बताएका छन् ।


तपाईंको प्रतिगामी पार्टी एमालेको पार्टी कार्यालय कहाँ छ ? करोडौं राजस्व छल्नेले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन । जनताको व्यवस्थालाई कमजोर बनाएर ‘वा’ प्रवृत्तिलाई खुसी बनाउँदै नवप्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो ?,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हिजो आफैंले ओली प्रतिगमनविरूद्ध देशभर घन्काएको नारा याद छ कि छैन ? कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो ?’ विज्ञप्तिमा उललेख छ ।


त्यसैगरी प्रतिगमनको सेवकका रूपमा क्रान्तिकारीहरूसँग जोरी नखोज्न चेतावनी दिदै कसको ठेगाना कहाँ हो ? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाइदिने उल्लेख गरिएको छ ।