एसईईको नतिजा प्रकाशन नहुँदै ११ मा भर्ना गरे कारबाही, विद्यार्थीबाट लिइने शुल्कबारे जानकारी दिन निर्देशन

काठमाडौं/३ साउन-काठमाडौं महानगरपालिकाले एसईईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन महानगरपालिका भित्रका सबै माध्यामिक विद्यालय, कलेजलाई निर्देशन दिएको छ । केहि माध्यामिक विद्यालय तथा कलेजहरुले एसईईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना लिन थालेको गुनासो आए पछि निर्देशन दिएको हो ।


त्यसैगरी महानगरपालिकाले आज एक सूचना जारी गर्दे कक्षा ११ मा भर्ना गर्दाको समयमा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नु पर्ने, विद्यार्थीसँग रजिष्ट्रेशन दस्तुर, परिक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्रै लिनुपर्ने , विद्यार्थीलाई किताब डे«स र अन्य शैक्षिक सामाग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्ने र माध्यामिक विद्यालय तथा कलेजहरुले कक्षा ११ र १२ मा विद्यार्थीहरुलाई दिइने सेवा र विद्यार्थीहरुबाट लिइने शुल्क के कति हो खुलाएर साउन १५ भित्र महानगरपालिकाको शिक्षा विभागमा पेश गर्न भनेको छ ।


साथै तोकिए अनुसारको छत्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विवरण शैक्षिक सत्र शुरु भएको २ महिनामा विभागमा पठाउन भनिएको छ ।