सुनसरी/३ साउन-गत २०७७ फागुन ९ गते पी पी कोइरालाले लेखेको “आमाबाबुसँग शिक्षा आदान–प्रदान “भाग १ नामक पुस्तक बजारमा आइसकेको छ । यसको विमोचन काठमाण्डौ स्थित श्री पंचकन्या आधारभुत विद्यालयकी प्र.अ.विनिता रञ्जित र विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षको विशेष सौजन्यमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, वुद्धिजीवी, समाजसेवी आदि सयौको सहभागिता रहेको एक विशेष समारोहमा आदरणीय राष्ट्रिय व्यक्तित्व द्वय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइरालाको वाहुलीबाट भएको थियो ।

यस पुस्तकको गहिरो अध्ययन गरि शुभकामना दिनुहुने अन्य विद्वानहरुमा प्रा.डा.शैलेन्दु प्रकाश नेपाल ( सप्राचार्य पद्मकन्या कलेज काठमाण्डौ), प्रा.डा.गोपाल भण्डारी (महेन्द्र क्याम्पस धरान), प्रधान सम्पादक शशी प्रसाद बजगाईँ (साहित्य सौगात इनरुवा), प्र.अ. एवम नागरिक समाज इनरुवाका अध्यक्ष पुरुषोत्तम घिमिरे , सप्तरङ्गी साहित्य समाज प्रदेश न १ का अध्यक्ष रमेन्द्र कोइराला, शिक्षाप्रमुखहरु भुपेन्द्र कोइराला (बेलबारी), रत्न बहादुर कटवाल (धरान), मोती प्रसाद भट्टराई (काठमाण्डौ) प्रअहरु इन्द्र बहादुर राई (धरान) र विनिता रञ्जित (काठमाण्डौ) हुनुहुन्छ भने यस पुस्तकको प्रकाशक धरानकी कीर्तिका कोइराला हुनुहुन्छ ।
छोटो भोल्युमको भएपनि गहन विषयवस्तु समावेश गरिएको ,सर्वसाधारणले बुझ्ने सरल शैलीमा लेखिएको यो पुस्तक दुई तीन वसाँइमै पढि सिद्ध्याइन्छ र पढ्दा कहिँपनि अल्छि वा वोर लाग्ने ठाउँ भेटिदैन । एकदुइ ठाउँ बाहेक वर्ण विन्यासमा पनि शुद्धता छ ।
कसैका पनि सन्तानहरु नबिग्रिउन । उनीहरु बिग्रिए आमाबाबु लाई मात्र होइन आफ्ना नातागोता,परिवार,समाज,राष्ट्र विश्व समुदायलाई नै पिडा दिने हुनाले आमाबाबुले आफ्ना सन्तानको हेरचाहका लागि किशोरावस्था सम्म (करिव २० बर्ष उमेर सम्म) गम्भिरतापूर्वक समय दिनु पर्छ भन्ने मूल सन्देश बोकेको यो पुस्तक भित्र मूख्य ५वटा शीर्षकहरु मार्फत विषयवस्तु उल्लेख गरिएको छ । ती शिर्षकहरु–आमाबाबुले बच्चाका निमित्त गर्नै पर्ने कार्यहरु,बच्चा हुर्काउने उत्तम शैली,वालविकासका संकटहरु,प्रतिभा पहिचानमा आमाबाबुको ध्यान र खुशी तथा सुरक्षित परिवार बनाउने उपायहरु विभिन्न तथ्याङ्क र सचित्र वर्णन गरिएको छ ।
यस पुस्तक भित्र वालवालिकाको जन्मजात प्रतिभा जे छ त्यसैको पहिचान गरि अभिभावकले आफ्ना बच्चाहरुलाई अगाडि बढाउने सल्लाह दिईएको छ । वच्चाका १२ क्षेत्रको प्रतिभा मध्ये कुनै एउटा क्षेत्रको सबै भन्दा अधिक गुण भएको क्षेत्रमा विशेष अवसरहरु दिनु पर्छ भनी हार्डवर गार्नरको बुद्धिमताको सिद्धान्त समेत वर्णन गरिएको साथै विद्वान एरिक एरिक्सन को मनोसामाजिक विकासको सिद्धान्त भित्रका आठ अवस्थाहरु मध्ये ५ अवस्थाको सचित्र वर्णन छ ।
प्रकृतिको नियममा जुनसुकै प्राणीले आफ्ना सन्तानको आधारभुत क्षमता विकासका लागि खास खास उमेर सम्म पुरै ध्यान दिनैपर्छ । त्यसैले मानव प्राणीले पनि आफ्नो सन्तान २० बर्षको नहुन्जेल उसको शारीरिक, मानसिक संकटहरु तर्फ सचेत हुँदै उसका सर्वाङ्गिण पक्षको विकासका लागि सबै उपायहरु र कदमहरु चाल्नु पर्छ । यी कुराहरु आमाबाबुको अनिवार्य दायित्व भित्र पर्ने कुराहरु हुन ।
आमा बाबुले सानैमा आफ्ना असल असल संस्कारहरु बच्चामा विकसित गर्दै लाने गरे मात्र त्यो बच्चा जीवन भरि खुशीले बाँच्न सक्छ र अरुलाई पनि खुशी वनाउन सक्छ भन्ने कुरा यश पुस्तक भित्र गहकिला उदाहरण र कथा अनि चित्रहरुद्वारा प्रष्ट पारिएको छ ।
सानै उमेरमा घटेका नकारात्मक घटनाहरुले बच्चाको नकारात्मक प्रवृति हुर्किन्छ र ती नकारात्मक प्रवृतिको विकास हुँदै गएपछि जीवन भरि साथ छोड्दैन । तीनै खराव प्रवृति मध्ये कसैमा भ्रष्टाचारी हुने, कसैमा बलत्कारी हुने, कसैमा दुर्व्यसनी हुने, कसैमा अनैतिक असामाजिक आचरणको हुने, कसैमा पक्षपाती हुने, कसैमा निरंकुश हुने, कसैमा अपहरणकारी हुने, कसैमा हिंस्रक हुने र कसैमा डिप्रेसनको शिकार हुने लक्षणहरु÷स्वभावहरु देखिन्छ । तसर्थ बच्चालाई हुर्काउने कुरामा सानै उमेरदेखि एकदमै सचेतता पूर्वक ध्यान दिनु पर्छ भन्नेकुरा यस पुस्तक मार्फत लेखकले अगाडि सारेको देखिन्छ ।
कतिपय आमाबाबुहरु आफ्नै मनोसामाजिक समस्याको कारण आफ्ना सन्तानहरुलाई सन्तुलित हेरचाह गर्न सकिरहेका हुँदैनन । उनीहरुलाई दृष्टिगत गरि महात्मा गौतम बुद्धका दुख हटाउने उपाय आदि पनि प्रस्तुत गर्दै मनोसामाजिक समस्याबाट मुक्ति पाउने उपायहरु समेत यस पुस्तकमा उल्लेख गरिनुले समाज कल्याणको गहिरो चिन्तन बोकेका लेखकको मानव विकासको यस अभियानमा गहिरो रुचि रहेको प्रष्ट हुन्छ ।
यस पुस्तकले शिक्षा क्षेत्रमा एउटा नया आयाम थप्ने विश्वास गर्न सकिन्छ । यो पुस्तक आम अभिभावकमा पुगोस । यसका लागि स्थानिय तह देखि केन्द्रीय तह सम्मको पाठ्यक्रममा यो पुस्तक सन्दर्भ सामग्रीको रुपमा राख्न सकिने देखिएको छ । सम्वन्धित निकायको यस तर्फ ध्यानाकर्षण समेत गर्दछु ।
अन्तमा यस पुस्तकको व्यवहारिक पक्षमा लेखकको कलम चलिरहोस र छिट्टै यस पुस्तकको दोस्रो भाग पनि प्रकाशित होस भनी शुभकामना दिन चाहन्छु ।
( यो पुस्तकको समिक्षा रमेन्द्रमुनि कोइरालाले गर्नु भएको हो । कोइराला सुनसरी क्याम्पस इनरुवाका प्राध्यापक हुनुहुन्छ ।)




