विश्वविद्यालयको स्वयत्तताको सम्मान गर्न सरकारप्रमुखलाई पूर्व उपकुलपतिहरुको आग्रह

काठमाडौं /२ असार-पूर्व उपकुलपतिहरुले पदीय मर्यादा र विश्वविद्यालयको स्वयत्तताको सम्मान गर्न शिक्षामन्त्री र सरकारप्रमुखलाई आग्रह गरेका छन ।


१२ जना पूर्व उपकुलपतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षामन्त्री र प्रधानमन्त्रीले विश्वविद्यालयको स्वयत्ततामाथि गरेको हस्तक्षेपको विरोध गरेका हुन् । साथै चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न माग गरेका छन् ।


काठमाडौं विश्वविद्यालयले चिकित्साशिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सिमा नाघेर पूर्वाधारनै नपुगेकको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन र कानूनी राज्यको उपेक्षा गर्न अतिकति पनि नहिच्किचाउनु दुर्भाग्य भएको बताएका छन् ।


जायज अडान राखेका डा. गिरीलाई धम्की आउन थालेको भन्दै उनीहरुले भनेका छन्, ‘यसरी जो कसैलाई इमान्दारिता र नैतिकतामाथिको चुनौती स्वरुप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्नु परेमा त्यसबाट हुने कुनै पनि क्षतिको जिम्मेवार सरकार हुनेछ ।’


पूर्व उपकुलपतिहरुले डा. गिरीलाई सुरक्षा दिन र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्ताक्षर नगर्न समेत माग गरेका छन् ।