अमेरिका/ २७ बैशाख- अमेरिकामा भएको गोली काण्डमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका गएका संखुवासभाका सागर घिमिरेको शनिबार बिहान अमेरिकामा भएको गोली काण्डमा मृत्यु भएको हो ।
नेपालको जयामल्टिपल कलेजबाट प्लस टु सकेका घिमिरे आईटी अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका गएका थिए ।
साउथ क्यारोलाइनामा स्नातको पढाइ सकेर बाल्टिमोरमा आएका घिमिरे केहिसमय पछि नेपाल आउने तयारीमा रहेका थिए । उनी केहि दिन अगाडि मात्र स्नातक तहको दीक्षान्त समारोह सकेर बाल्टिमोर आएका थिए । उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्थी समेत हुन ।
उक्त गोलीकाण्डमा सर्लाहीका श्याम अधिकारी गोली लागेर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । श्याम अधिकारी र सागर घिमिरे कलेज देखिका साथि थिए । उनिहरु बाल्टिमोरमा सँगै बस्दै आएका थिए ।
घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाइरहेको बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले बताएका छन् । प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भएको छ ।



