काठमाडौं /२६ बैशाख – नेपाल शिक्षक महासङ्घका निवर्तमान अध्यक्ष बाबुराम थापाबाट आफूलाई अध्यक्ष भनी नेपाल शिक्षक महासङ्घको लेटरप्याड तथा छाप प्रयोग गरी वक्तव्य जारी गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण गर्दे विज्ञप्ति जारी गरिएको छ ।
शिक्षकबाट सेवा निवृत्त व्यक्ति नेपाल शिक्षक महासङ्घको कुनै पनि पदमा रहन नसक्ने र बाबुराम थापासँग यो विषयमा सहमति भएको तर फेरि पनि थापाले नेपाल शिक्षक महासङ्घको लेटरप्याड तथा छाप प्रयोग गरी वक्तव्य जारी गरेको भन्दै ध्यानाकर्षण गरिएको हो ।
नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सरवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ “नेपाल शिक्षक महासङ्घको २०७७ फाल्गुण २९ गते ललितपुरको लगनखेल स्थित साझा ब्याङ्क्वेटमा सम्पन्न विशेष राष्ट्रिय परिषदले निर्णय गरी विधान संशोधन सम्बन्धी विवादको निरुपण गरिसकेको सबैमा विदितै छ ।”
साथै २०७७ फाल्गुण १४ गते तात्कालीन अध्यक्ष बाबुराम थापा, ने.शि. सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल, ने.रा.शि.सङ्गठनका अध्यक्ष लक्ष्मण शर्मा र वार्ता सहजिकरण कार्यदलका संयोजक सानोभाइ कार्कीसमेत ४ जनाले संयुक्त हस्ताक्षर गरी चार बुँदे लिखित सहमती भएको विज्ञप्तिमा जानकारी गराइएको छ ।
आफैंले हस्ताक्षर गरेको सम्झौता पत्र र आफैले अध्यक्षता गरेको विस्तारित कार्यालयीय र कार्य सम्पादन समिति वैठक तथा विशेष राष्ट्रिय परिषदले गरेको निर्णयमार्फत् पदबाट हटेका निजले त्यसपछि पनि आफू नै अध्यक्ष रहेको भनी महासङ्घको लेटरप्याड र छाप प्रयोग गरी वक्तव्य जारी गर्नु गैरवैधानिक, गैर मर्यादित तथा गैर जिम्मेवार कार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।





