राजनितिक गतिविधिमा सक्रियता देखाउने शिक्षकलाई कारवाही गर्ने चेतावनि


दैलेख /२४ बैशाख – शिक्षा विकास तथा समन्वय इकाइ दैलेखले विद्यालयहरुमा शिक्षक लामो समय सम्म अनुपस्थिति हुने,मदिरा सेवन गरी विद्यालय आउने र विभिन्न राजनितिक गतिविधिमा सक्रियता देखाउने शिक्षकलाई कारवाही गर्ने चेतावनि दिएको छ ।

इकाइमा गुनासो आए पछि त्यस्ता कार्यमा संलग्न हुने शिक्षकहरुलाई शिक्षा ऐन अनुसार कारवाही गरिने चेतावनि दिएको हो । त्यस्ता गतिविधिमा सँलग्न रहेका शिक्षकलाई तुरुन्त सम्बन्धित निकायमा सफाई पेश गर्न समेत निर्देशन दिएको छ ।

यदि विना सुचना लगातार १५ दिन भन्दा बढी समय विद्यालय अनुपस्थित रहेमा, विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा,सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनैतिक दलको विधान बमोजिम गठित कार्यकारिणि समितिमा सदस्य रहेको पाइएमा शिक्षा ऐन २०२८(संशोधन सहित)को दफा १६ ङ उपदफा ५ अनुसार शिक्षकलाई पदबाट हटाउन सक्ने व्यावस्था रहेको छ ।

त्यसै गरी शिक्षा विकास तथा समन्वय इकाइ दैलेखले शिक्षकहरु नियमित रुपमा उपस्थित भई शिक्षकहरुमा कोरोना संक्रमण देखिएकाले भौतिक दुरी लगायत स्वस्थ्य सुरुक्षाका मापदण्ड पालना गर्दे विद्यालयको काममा संलग्न हुन निर्देशन दिएको छ ।

कोभिड १९ महामारीको हालको अवस्थामा विद्यार्थिको सिकाइलाई निरन्तरता दिन बाालबालिकाको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिहरु र विद्यार्थि सिकाइ सहजिकरण निर्देशिका बमोजिम सिकाइलाई निरन्तरता दिन जिल्ला भित्रका सम्पुर्ण विद्यालयका शिक्षकहरुलाई निर्देशन दिएको छ ।

साथै बालबालिकाका अभिभावकहरुसँग फोन सम्पर्क गरी घरमा बालबालिकाले नियमित रुपमा अध्यायन गरीरहेको कुरा सुनिश्चित गर्न, सक्षम अभिभावक वा माथिल्लो कक्षाका दाजु दिदिरुलाई परीचालन गरी तल्ला कक्षाका बालबालिकाको सिकाइमा सहजिकरण गर्न र विभिन्न टेलिभिजन,रेडियोबाट प्रशारण भएका पाठको समय तालिका साधनको पहुँच भएका बालबालिकाहरुलाई सुन्न र हेर्न लगाउन भनिएको छ ।