भारतीय विश्वविद्यालयले नक्कली डिग्री बेच्दा नेपाली विद्यार्थीलगायत हजारौं विद्यार्थी मारमा

काठमाण्डौं/२० फागुन– भारतको हिमाञ्चल प्रदेशस्थित सालोनमा रहेको मानव भारती विश्वविद्यालयबाट डिग्री लिएर बसेका हजारौं विद्यार्थी अहिले समस्यामा परेका छन् ।
सो विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली भएको तथ्य प्रहरी अनुसन्धानमा खुलेपछि उक्त विश्वविद्यालयबाट डिग्री प्राप्त विभिन्न मुलुकमा काम गरेर बसेकाहरुलाई समस्या पर्न गएको हो ।
भारतीय सरकारी संस्थाको अनुसन्धानबाट विश्वविद्यालयले एउटा डिग्रीलाई भारू १ देखि ३ लाखका दरले बेचेको देखाएको छ ।
विश्वविद्यालयबाट डिग्री लिएकाहरूमा एक नेपाली पनि परेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले आफूले अर्को महिना अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता दिन लागेको भए पनि विश्वविद्यालयका डिग्री नक्कली हुन् भन्ने खुलासाले आफू निकै समस्यामा परेको बताएका छन् । उनले मानव भारती विश्वविद्यालयमा आफ्नो डिग्री प्रमाणित गरिदिन तीन पटक सम्म इमेल पठाएको बताएका छन् ।
सिंगापुरको जनशक्ति मन्त्रालयले आफ्नो देशमा वर्क पास भएका १५ जनाले मानव भारती विश्वविद्यालयको डिग्री भएको बताएकाले उनीहरूको डिग्रीमाथि अहिले अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।
मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटामात्र अनुसन्धान गरेको छ । बाँकी हार्ड डिस्कको पनि अनुसन्धान भईरहेको छ ।
सो तथ्य बाहिर आएपछि विश्वविद्यालयका सञ्चालक राजकुमार रानाको पासपोर्ट फिर्ता गरिएको थियो । राजकुमार राना ट्रस्टका अध्यक्ष पनि हुन् । राना परिवारले सन् २००९ मा हिमाञ्चल र २०१३ मा हरियाणामा विश्वविद्यालय खोलेको थियो । उनले नक्कली डिग्री बेचेर मात्रै १ सय ९४ करोड भारू कमाएको प्रहरीले अनुमान गरिएको छ । प्रहरीका अनुसार यो भारतीय इतिहासमा शिक्षा क्षेत्रबाट भएको सबैभन्दा ठूलो मुद्रा निर्मलीकरण भएको जनाएको छ ।