काठमाण्डौं/१४ फागुन– काठमाडौंको दरबार हाई स्कुललाई चीन सरकारले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा विभिन्न शैक्षिक सामाग्री सहयोग वितरण गरेको छ ।
विद्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
चीन सरकार र चिनियाँ जनताको तर्फबाट विभिन्न स्टेशनरी सामग्रीलगायत खेलकुद सामग्री, स्वास्थ्य सामग्री र ड्रेस सहयोग गरेको छ ।
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारको सहयोगबाट पुनर्निर्माण भएको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेशनरी तथा ड्रेस सहयोग गरेकोमा आफू कृतज्ञ रहेको बताए ।
साथै, चीन सरकारको सहयोग विगत् वर्षदेखि नै निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदूत यान्छीलाई धन्यवाद ज्ञापन गरे ।
२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकारको पूर्ण सहयोगमा विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निर्माण पछि भवनमा रहेका कक्षा कोठाहरू आकर्षक, ठूला, फराकिला र आधुनिक देखिएको छ भने विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन चीन सरकारले नै गरिएको थियो । विद्यालयमा अहिले नियमित रुपमा पठनपाठन भइरहेकाे छ ।



